तपाईँ सुन्दै हुनुहुन्छः

रोजगार मेलामा साढे पाँच सय बढीको आवेदन

रुपन्देही । बुटवलमा सञ्चालन गरिएको रोजगार मेलामा साढे पाँच सयभन्दा बढीले रोजगारीको लागि आवेदन दिएका छन् । 

बुधबार सम्पन्न दुई दिने रोजगार मेला (जब फेयर) मा ५ सय ५० जना बढीले आवेदन दिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य उज्ज्वलप्रसाद कसजूले बताउनुभयो । 

मेलामा आउने अधिकांश कलेज पढ्ने विद्यार्थी छन् । त्यसबाहेक गृहिणी, विविध कारणले काम छोडेर बसेका, वैदेशिक रोजगारीबाट फर्किएका लगायत रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराईले बताउनुभयो । मेलामा यस क्षेत्रका २९ वटा उद्योग प्रतिष्ठान सहभागी थिए । जसमा तीन करिब ३ सय जनलाई रोजगारीको अवसर थियो । मेलामा आएर आवेदन दिएकाहरूबाट उद्योग प्रतिष्ठानहरूमा आवश्यक जनशक्ति अनुसार प्रारम्भिक छनौट गरिएको ती उद्योग प्रतिष्ठानका प्रतिनिधिहरूले बताएका छन् । 

रोजगारीको अवसर खोजेर मेलामा आएकाहरूले आफ्नो क्षमता र चाहना अनुसारको कामको छनौट गरेका थिए भने त्यसका आधारमा उद्योग प्रतिष्ठानले प्रारम्भिक अन्तरवार्ता गरेर सर्ट लिस्टिङ् गरिएको र थप अध्ययन गरेर उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार काममा बोलाइने उनीहरूले बताएका छन् । 

मेलाको समापन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले दक्ष जनशक्तिको खोजीमा रहेका उद्योग प्रतिष्ठान र कामको खोजीमा रहेका युवाहरूका लागि मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रबाट भएको भन्दै प्रशंसा गर्नुभयो । मेलाको मङ्गलवार नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले उद्घाटन गर्नुभएको थियो । 

नेपाली युवा रोजगारीको लागि विदेश जानुपर्ने र नेपाली उद्योगीले बाहिरबाट कामदार ल्याउनु पर्ने बाध्यता रहेकोले यस बिचको तारतम्य मिलाउनको लागि रोजगार मेला गरिएको इन्टरनेशनल लेबर अर्गनाईजेशन (आई.एल.ओ.)का नेशनल प्रोजेक्ट कोर्डिनेटर सौरभराम जोशीले बताउनु भयो ।  नेपाल उद्योग वाणिज्य महासङ्घ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र बुटवल उपमहानगरपालिकाको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button