तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रमाया पौड्यालको शताब्दी यात्रा विमोचन

काठमाडौँ। लेखक इन्द्रमाया पौड्यालको शताब्दी यात्रा नामक पुस्तक सार्वजनिक भएको छ ।

एक सय एक वर्षीय लेखक पौड्यालले बर्मादेखि बेलायत हुँदै नेपाली समाजमा भोगेको जीवन सङ्घर्षका वास्तविकताहरू समेटिएको पुस्तक आज एक समारोहकाबीच जेष्ट नागरिकहरूले सार्वजनिक गर्नुभयो ।

पुस्तक सार्वजनिक समारोहमा पुस्तकबारे समीक्षा गर्दै नेकपा एमाले नेतृ डा विन्दा पाण्डेले पुस्तकले महिलाहरूले परम्परागत समाजमा जेल्नुपरेका सङ्घर्षका कथाहरू नयाँ पुस्तालाई प्रेरणादायी हुने बताउनुभयो ।

त्यस्तै गरी समीक्षक वरिष्ठ पत्रकार युवराज घिमिरेले ज्येष्ठ नागरिकका हरेक अनुभूतिहरू नयाँ पुस्ताका लागि ज्ञानको भण्डार हुने हुँदा त्यसको संरक्षण गरिनुपर्ने बताउनुभयो ।

पुस्तकका सम्पादन पत्रकार शुभेच्छा विन्दु तुलाधरले समाजमा आमाहरूले गरेका सङ्घर्षका इतिहास लेखिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पण्डित नरहरी निरौला, ओझराज लोहनी, चिन्तामणी योगी, जेष्ट नागरिक महासं३का अध्यक्ष छत्रबहादुर प्रधान, ऋतुराज सापकोटालगायतले लेखक इन्द्रमायाको कृतिले तत्कालीन समाजको चित्रण गरेको टिप्पणी गर्नुभयो ।

ज्योतिश, बेद, पुरानलगायतको ज्ञाता समेत रहनुभएकी एक सय एक वर्षीय लेखक इन्द्रमाया पौड्यालले विश्वका विभिन्न मुलुक पुगेर गरिएका जीवन सङ्घर्षका कथा सार्वजनिक गर्न पाएकामा खुसी व्यक्त गर्नुभयो ।

लेखक इन्द्रमायाकी कान्छी छोरी एवं पूर्व परराष्ट्रमन्त्री डा विमला राई पौड्यालले नेपाली समाजमा माताको अनुभव र ज्ञान पुस्तकका रुपमा सार्वजनिक गर्न पाउँदा हर्षित भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button