तपाईँ सुन्दै हुनुहुन्छः

इन्द्रावती गाउँपालिकाको वार्षिक प्रगति सार्वजनिक

सिन्धुपाल्चोक । नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको वर्ष पुगेकै दिन इन्द्रावती गाउँपालिकाले वार्षिक उपलब्धि सार्वजनिक गरेको छ । नवलपुरमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा वार्षिक उपलब्धि सार्वजनिक गरिएको हो ।

गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष शशिनाथ आचार्यद्वारा प्रस्तुत प्रतिवेदनमा विभिन्न क्षेत्रमा भएका प्रगति उल्लेख गरिएको छ । यस कार्यकालमा तीन सय ८२ धारा निर्माण भएका छन् भने ५० किलोमिटर पाइपलाइन पूरा गरिएको छ । १४ सिँचाइ ट्याङ्की, आरसीसी कुलो एक हजार एक सय मिटरका साथै छ हजार मिटरभन्दा बढी सिँचाइ पाइपको काम भएको छ । सडकतर्फ सात किलोमिटर बाटो निर्माणको चरणमा रहेको साथै पाँच सय मिटर बाटो ढलान गरिएको छ । १८ किलोमिटर सडक ग्राभेल गरिएको छ भने सोलिङ, पक्की नालाको काम भएको छ । २० किलोमिटर सडक विस्तारको काम भएको छ साथै १२ किलोमिटर नयाँ सडक खनिएको छ ।

शैक्षिक प्रगतितर्फ ११ बालविकास कक्षाकोठा बालमैत्री वातावरणसहित व्यवस्थापन गरिएको छ । १० विद्यालयमा अनलाइन लेखा प्रणाली लागू गरिएको छ । ‘टुहुरा बालबालिकासँग अध्यक्ष’ कार्यक्रमअन्तर्गत १३ जना बालबालिका लाभान्वित भएका छन् । एकल पुरुष भत्ताबाट ६८ जना लाभान्वित भएका छन् भने जटिल रोग लागेका ३६ जनालाई मासिक पाँच हजार रुपियाँ उपलब्ध गराइएको छ । कृषि क्षेत्रतर्फ छ वटा वडामा मकै पकेट विस्तार गरिएको छ भने आधुनिक ट्रस्ट टनेल निर्माण, आधुनिक कृषि उपकरण वितरण, किसान सूचीकरण, आकस्मिक रोग किरा व्यवस्थापन, गँड्यौला मल विकास कार्यक्रम, च्याउ खेती प्रवद्र्धन, मौरीपालन प्रवर्द्धनलगायतका काम भएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दूधमा अनुदान दिने कार्यक्रमअन्तर्गत दुग्ध सहकारीमार्फत प्रतिलिटर दूधमा किसानहरूका लागि चार रुपियाँले १३ लाख अनुदान दिइएको छ । चिलिङ भ्याट स्थापना गरिएको छ भने उन्नतजातको बोका वितरण, बङ्गुर प्रवद्र्धन कार्यक्रम, बिमित भैँसीलाई सुत्केरी स्याहारअन्तर्गत क्याल्सियम र मिनरल वितरण गरिएको छ ।

गाउँपालिकाको कार्यालय, नवलपुर बजार, सबै विद्यालय तथा स्वास्थ्य संस्थाहरूमा फ्रि वाइफाईको व्यवस्था गरिएको छ । वार्षिक उपलब्धिका साथमा आगामी वर्षको कार्ययोजना पनि सार्वजनिक गरिएको छ । गाउँपालिकाभित्र ४० किलोमिटर सडक कालोपत्रे गर्ने, बृहत् खानेपानी योजना सम्पन्न गरी चार हजार चार सय घरमा धारा पुर्‍याउने, जडीबुटी उत्पादन, प्रशोधन र बजारीकरण, विभिन्न उद्यमशील तालिम, परीक्षाको माध्यमबाट प्रधानाध्यापक छनोटजस्ता कार्यक्रम प्रक्षेपण गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले वार्षिक समीक्षा कार्यक्रममा नीति तथा कार्यक्रमअनुसारका कति काम भयो भनेर समीक्षा गरिने जानकारी दिनुभयो । अध्यक्ष नेपालले विकासका लागि स्रोतसाधन, क्षमतावान् जनशक्ति, कानुन, कार्यविधिका साथमा असल राजनीतिक संस्कारको आवश्यकता पर्ने बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष शोभना तामाङले स्वागत मन्तव्य राख्नुभयो । वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, शाखा प्रमुखहरूको समेत उपस्थिति रहेको सो कार्यक्रममा पत्रकारहरूले राखेका जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत शर्माका साथै अध्यक्ष नेपालले जवाफ दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button