तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।

मेलम्ची खानेपानी अयोजनाले राखेको परिचयात्मक तथा आयोजनाको विस्तृत जानकारी दिने कार्यक्रमका क्रममा मन्त्री यादव मेलम्ची पुग्नुभएको हो ।

उहाँले आफू भर्खरै मन्त्रालयमा आएकाले योजनाको विषयमा बुझ्न र जानकारी लिन स्थलगत अवलोकन गर्नुपरेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादवले मन्त्रालयबाट आयोजनाका लागि आवश्यक पर्ने सहयोगमा कुनै कमी नहुने र छिट्टै प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय जनप्रतिनिधिसँग बैठक बसी खानेपानी बोर्ड गठनको विषय टुङ्ग्याउने जानकारी दिनुभयो ।

यसैबीच उहाँले अबको दुई हप्ताभित्रमा समय मिलाएर प्रधानमन्त्रीले पनि आयोजनाको मुहानस्थल हेलम्बु अम्बाथानको भ्रमण गर्नुहुने बताउनुभयो ।

सोही क्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले अहिले वर्षायाममा पानी बन्द गर्नुपर्ने र हिउँदमा मात्र पानी पठाउनुपर्ने अवस्था भएकाले उक्त समस्या समाधानका लागि सरकारले बाह्रै महिना पानी पठाउन विशेष योजना बनाउन मन्त्री यादवसमक्ष अनुरोध गर्नुभयो ।

साथै सिन्धुपाल्चोकले काठमाडौंलाई पानी पठाएबापत पाउनुपर्ने रोयल्टीलगायत सेवा सुविधाका बारेमा छिट्टै ऐन बनाई कार्यान्वयन गर्नुपर्नेमा तामाङले जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button