तपाईँ सुन्दै हुनुहुन्छः

८ वर्षपछि पाए जुरे पहिरो पीडितले राहत रकम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुरेमा १४२ जनाको ज्यान जाने गरी २०७१ साउनमा गएको पहिरो पीडितहरूले स्थानीय स्तरबाट सङ्कलित भएको रकम ८ वर्षपछि पाएका छन् ।

साबिकको मांखा गाउँ विकास समितिको जुरेमा पहिरो जाँदा १ सय ३५ जनाको मृत्यु भएको थियो भने करोडौँको भौतिक सम्पत्ति क्षति भएको थियो । पहिरोपछि जुरे पहिरो पीडितहरूका लागि जनस्तरबाट २ करोड २४ लाख ६६ हजार ६५७ रुपैयाँ सङ्कलन भएको थियो ।

तत्कालीन सर्वदलीय संयन्त्रले सङ्कलित रकम पीडितहरूलाई वितरण गर्न नसकेपछि तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा रकम जम्मा भएर बसेको थियो । विभिन्न सामाजिक संघ संस्थाहरूले पीडितहरूको नाममा जम्मा भएको रकम तत्काल वितरण गर्न माग गरे पनि राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा वितरण हुन सकेको थिएन ।

तत्कालीन जिल्ला दैवी प्रकोप उद्धार समितिले सङ्कलन भएको रकम वितरणका लागि जुरे पहिरो प्रभावित राहत वितरण मापदण्ड समिति बनाएर पीडितहरूको वर्गीकरण गरेको थियो । अहिले रकम वितरण गर्दा त्यही मापदण्डको आधारमा नै रकम वितरण गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले तीन स्थानीय सरकारका प्रमुखहरूलाई रकमबापतको चेक हस्तान्तरण गर्नुभएको थियो । अब सम्बन्धित स्थानीय तहको खातामा रकम जम्मा हुने र स्थानीय तहले आफ्नो पालिका भित्रका पीडितहरूलाई तोकिएको मापदण्ड अनुसार रकम वितरण गर्ने छ ।

पीडितहरूले रकम पाउँदा मापदण्ड निर्धारण समितिले तोकेको मापदण्ड अनुसार नम्बर प्रदान गरेर रकम हस्तान्तरण गरिएको छ । बलेफी गाउँपालिकाका १ सय १६ परिवार पीडित भएका थिए भने १ सय १३ जनाको मृत्यु भएको थियो ।

लामो समयपछि स्थानीय स्तरबाट सङ्कलन भएको रकम पीडितहरूले पाउनु सुखद भएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले बताउनुभयो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुबोध’ ले आफूहरूको निरन्तरको पहल र प्रयत्नपछि पीडितहरूको नाममा सङ्कलन भएको रकम प्रदान गर्न सफल भएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा भएको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको प्रयास कार्यक्रममा पीडितहरूका लागि रकम बापतको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारयण श्रेष्ठ, प्रदेश सभा सदस्यहरु सरल सहयात्री, मसिना भण्डारी, अमृता नेपाल, माइली तामाङ लगायत स्थानीय सरकारका प्रमुखहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button