तपाईँ सुन्दै हुनुहुन्छः

आयोजना लम्बिँदा लागत पनि लम्बिन्छ : अध्यक्ष तिमिम्सिना

सिन्धुपाल्चोक । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आयोजना लम्बिँदा लागत बढ्ने बताउनुभएको छ । 

उहाँले विभिन्न महत्त्वपूर्ण आयोजनाहरूको समयावधि विभिन्न कारणले लम्बिँदा लागत बढ्ने उल्लेख गर्नुहुँदै समयमै काम सक्नुपर्नेमा जोड दिनुभयो । 

मेलम्ची खानेपानी आयोजनाको निरीक्षणका लागि सिन्धुपाल्चोक आउनुभएका अध्यक्ष तिमिल्सिनाले खानेपानी साइडल्ट कार्यालय मेलम्चीमा आयोजित छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । 

अध्यक्ष तिमिल्सिनाले कुनै पनि आयोजना सञ्चालन गरिरहँदा यसबाट प्रभावित हुने अन्य उपआयोजनाहरूका बारेमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले एकै पटक एकीकृत ढंगले काम गर्न सकेमा कामले गति लिने समयको बचत र लागतमा पनि कमी आउने बताउनुभयो । 

मेलम्चीको पानी वितरणका लागि काठमाडौँमा भइरहेको कामको उदाहरण दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले पाइप बिछ्याउन, बिजुलीका तारहरू भूमिगत गर्ने कुराहरूले गर्दा धेरै असरहरू देखापरेका भन्दै योजना बनाउँदा केही सिकाइहरूलाई सँगै लिएर जानुपर्ने बताउनुभयो । 

उहाँले एकिकृत योजना बनाउँदा समयमै काम सम्पन्न हुने र आयोजना प्रभावकारी हुने  बताउनुभयो । 

छलफलमा आयोजनका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका विगतदेखि वर्तमान सम्मका अवस्था र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button