तपाईँ सुन्दै हुनुहुन्छः

परराष्ट्र मन्त्री साउँदद्वारा बेलौरी छोटी भन्सार कार्यालयको अनुगमन

कञ्चनपुर । परराष्ट्र मन्त्री एनपी साउँदले कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन गर्नुभएको छ ।

पछिल्लो एक वर्षयता तालाबन्दी अवस्थामा बेवारिसे रहेको बेलौरी छोटी भन्सार कार्यालय र करिब एक शताब्दी पुरानो भन्सारकै जीर्ण भवनको सोमबार दिउँसो स्थलगत अनुगमन गर्दै मन्त्री साउँदले कार्यालयलाई पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताउनुभयो ।

सीमाहरूमा देखिएको विवादलाई वार्ता, छलफल र कूटनीतिक पहलबाट समाधान गरिने परराष्ट्र मन्त्री साउँदको भनाइ छ ।

मन्त्री साउँदलाई अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रमा देखिएको सीमा विवाद समाधान सहितका विभिन्न माग गर्दै ज्ञापन पत्र पेस गरेको छ ।

यही वैशाख ३ गते परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुग्नुभएका साउँदले सोमबार नै नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको बधाई ज्ञापन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई पनि सम्बोधन गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button