तपाईँ सुन्दै हुनुहुन्छः

‘सन् २०३० सम्ममा मधेश प्रदेशलाई बालविवाह मुक्त प्रदेश बनाइने’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशलाई सन् २०३० सम्ममा पूर्ण रुपमा बालविवाह मुक्त प्रदेश बनाउने बताउनुभएको छ ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको आयोजना तथा लाईफ नेपालको समन्वय र युनिसेफ, यूएनएफपिए, गल्सफष्ट फन्ड सहितका संस्थाहरूको सहयोगमा आज जनकपुरधाममा भएको मधेश बालिका सम्मेलनको उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले मधेश प्रदेश सरकारले बालिकाको हितका लागि बेटी पढाऊँ बेटी बचाऊँ, छोरी शिक्षा बिमा कार्यक्रम, साइकल वितरण जस्ता कार्यक्रमहरू गर्दै आएको बताउँदै यसलाई अहिलेको सरकारले निरन्तरता दिँदै बालविवाह अन्त्यका लागि थप रणनीति सहित अगाडी बढेको बताउनुभयो ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशमा बालविवाह रोक्न तथा छोरी शिक्षा बिमा, विद्यालय भर्ना जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउनका लागि १० वर्षे रणनीतिक योजना प्रदेश सरकारले बनाएको बताउनुभयो ।

मधेश प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले मधेश प्रदेशमा विद्यालयको पहुँचबाट बाहिर रहेका बालिकाहरूलाई विद्यालय भर्ना गराएर बालविवाह कम गर्न सकिने भएकाले त्यसका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशलाई पूर्ण साक्षर प्रदेश बनाउन काम गरिरहेको बताउँदै अबको पाँच वर्षमा प्रदेशलाई पूर्ण रुपमा साक्षर प्रदेश बनाइछाड्ने बताउनुभयो ।

मधेश प्रदेशका ८ जिल्लाका बालिकाहरूको सहभागिता रहेको दुई दिने सम्मेलनमा प्रदेशमा बढेको बालविवाह रोक्नका लागि गर्नुपर्ने कामकाजको विषयमा छलफल, बहस तथा अन्तरक्रिया हुने लाईफ नेपालका अध्यक्ष सुरैत ठाकुरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button