तपाईँ सुन्दै हुनुहुन्छः

झापामा हावाहुरीसहितको असिना पानीले स्टिल उद्योगमा ठूलो क्षति, तरकारी र अन्नबाली नष्ट

भद्रपुर, झापा । आँधी हुरीसहित आएको वर्षातका कारण झापाको बिर्तामोडस्थित पाथिभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ ।
शुक्रबार साँझ आएको आँधी र हुरीसहितको वर्षातले बिर्तामोड–२ मा रहेको सो उद्योगमा दश करोड रुपैयाँभन्दा बढीको क्षति भएको जनाइएको छ ।
हावाहुरीले जस्ताको छाना उडाएपछि उद्योगभित्रका एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याब, कार्यालयको कम्प्युटर, प्रिन्टर लगायत धेरै मेशिनहरू पानी पसेर पूर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रबन्ध निर्देशक कपिल विमलीले जानकारी दिनुभयो ।
उद्योगमा काम गर्ने मजदुर बस्ने क्वार्टरसमेत पूर्णरुपमा क्षति पुगेको छ । त्यहाँ भएका भाँडाकुँडा, ग्यास, लत्ता कपडालगायतका सामग्रीहरु नष्ट भएका छन् । उद्योगको मुख्य मेशिन र भट्टी रहेको स्थानको छाना उडाएर असिना पानी पसेका कारण ठूलो क्षति भएको उद्योगका व्यवस्थापक भुपाल थापाले जानकारी दिनुभयो ।
शनिबार बिहान उद्योगको वरिपरि रहेको खाली जग्गा र सडकमा छानामा लगाइको जस्तापाता छरिएको पाइएको स्थानीय हरि कोइरालाले बताउनु भयो । कोशी प्रदेशकै ठूलो स्टिल उद्योगको रुपमा परिचित त्यस उद्योगमा १ सय ३५ जनाभन्दा बढीले रोजगारी पाइरहेका छन् ।
यसैगरी, शुक्रबार शनिबार आएको हावाहुरी र असिना पानीले झापामा अन्नबालीमा पनि ठूलो नोक्सानी पुर्‍याएको छ ।
हावाहुरीसहित आएको वर्षा र असिनाले असिनाले मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो ।
जिल्लाको कनकाईमा सबैभन्दा बढी क्षति भएको कृषकबाट जानकारी आएको उहाँले बताउनुभयो । कनकाई नगरपालिकाको कृषि शाखासँग समन्वय गरेर अनुगमन भइरहेकाले बेलुकासम्म क्षतिको विवरण आउने उहाँले बताउनुभयो ।
कनकाईसँगै भद्रपुर, बिर्तामोडलगायतका क्षेत्रमा समेत वर्षासहित आएको असिनाले क्षति पु¥याएको छ । असिना परेको ठाउँमा धेरै क्षति पुगेको छ । तरकारी खेती गर्ने कृषि फार्महरूमा लगाइएको तरकारीमा धेरै क्षति पुगेको कार्यालयले जनाएको छ । झापामा यो वर्ष करिब ४० हजार हेक्टरमा मकैखेती लगाइएको छ । मकै बालीमा बढी क्षति पुगेको प्रमुख विष्टले बताउनुभयो ।
जिल्लामा हावाहुरीले बिजुलीको पोल, घर तथा विद्यालयको टिनको छानासमेत उडाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सबै क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button