तपाईँ सुन्दै हुनुहुन्छः

कालिन्चोक र सैलुङ क्षेत्रमा आज पनि हिमपात

दोलखा । दोलखाको उच्च पर्यटकीय केन्द्र कालिन्चोक र सैलुङ क्षेत्रमा आज पनि हिमपात भएको छ । 

बिहानैदेखि चिसो बढेपछि आज दिउँसो २ः३० बजेबाट हिमपात सुरु भएको हो । 

हिमपातका कारण जनजीवन प्रभावित बने पनि कालिन्चोक मन्दिर दर्शन र प्राकृतिक क्षेत्र भ्रमणको लागि कालिन्चोक पुगेका पर्यटकहरू हिउँमा रमाइरहेका छन् । 

शुक्रवार समेत हिमपात भएकोले शनिवार दिउँसो धेरै पर्यटक कालिन्चोकमा हिउँ खेल्न पुगेको कुरीमा रहेको होटल सुनपातीका राजन क्षेत्रीले बताउनुभयो ।

पुस र माघ महिनामा हिमपात नभएको तीन हजार आठ सय ४२ मिटर उचाइमा रहेको कालिन्चोक क्षेत्रमा फागुन १३ गते पहिलो पटक हिमपात भएको थियो । त्यसयता यो क्षेत्रमा आज समेत पाँच पटक हिमपात भइसकेको क्षेत्रीले बताउनुभयो । 

धार्मिक एवं सांस्कृतिक महत्त्वको कालिन्चोक प्राकृतिक सुन्दरताको लागि समेत प्रसिद्ध छ । कालिन्चोक भगवती मन्दिर परिसरमा जलकुण्ड समेत रहेको छ । यहाँको मुख्य विशेषता यही जलकुण्ड हो । कालिन्चोक टाकुरामा अवस्थित जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिँदैन तर जलकुण्डको पानी हरेक मौसममा कायम रहन्छ । किंवदन्ती अनुसार जलकुण्डबाट दाहिने तिर तामाको धारा भएर तामाकोसी बगेको र देब्रेतिर सुनको धारा भएर सुनकोसी बगेको छ ।

सैलुङ क्षेत्रमा पनि शुक्रवार र शनिवार दुवै दिन हिमपात भएको स्थानीय दिपेश श्रेष्ठले बताउनुभयो । शुक्रवार र शनिवार कालिन्चोक, सैलुङ लगायतका उच्च भेगमा हिमपात भएपछि सदरमुकाम चरिकोटमा समेत चिसो अत्यधिक बढेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button