तपाईँ सुन्दै हुनुहुन्छः

चितवन–२ मा न्यौपाने र तनहुँ–१ मा खनाललाई उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौँ । नेकपा एमाले सचिवालयको आज बसेको बैठकले चितवन–२ र तनहुँ–१ मा उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।  

नेकपा एमालेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले चितवन–२ मा रामप्रसाद न्यौपाने र तनहुँ–१ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको बताउनुभयो । 

वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले बारा–२ मा उम्मेदवारको टुङ्गो भोलि लगाइने र मिटर व्याज पीडितहरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । 

तनहुँ–१ बाट उम्मेदवार बन्न लाग्नुभएका खनाल पूर्व प्रहरी महानिरीक्षक हुनुहुन्थ्यो भने चितवन–२ बाट उम्मेदवार बन्न लाग्नुभएको न्यौपाने एमाले चितवन जिल्ला कमिटी अध्यक्ष हुनुहुन्छ । 

बैठकले अप्रिल २२ मा पार्टीको ७५औँ वार्षिकोत्सवको अवसरमा वार्षिक कार्य योजना बनाएर एक वर्षभित्र सङ्गठन विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गर्नका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूको राय सुझाव सङ्कलन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button