तपाईँ सुन्दै हुनुहुन्छः

रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताउनुभएको छ ।

उपप्रधानमन्त्री तथा मन्त्री पदको सपथ लिएपछि आज मन्त्रालयमा पद बहालीका क्रममा उहाँले भन्नुभयो, “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजना समेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।”

मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री खड्काले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको रणनीतिक महत्त्व रहेको धारणा व्यक्त गर्नुभयो । विषयका महत्त्वलाई बुझेर नै सबैसँग समन्वय र सहकार्यका साथ सामूहिक भावले आफ्ना काम अघि बढाउने उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उपप्रधानमन्त्री खड्काले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने जानकारी गराउनुभयो । सोहीअनुसार नै सरकारले विकास निर्माण तथा समृद्धिका लागि महत्त्वपूर्ण सुधारका कार्य गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button