तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर दाजुभाइलाई नागरिक अभिनन्दन

वीरगन्ज । आइसिसी विश्वकप लिग २ मा नेपालको तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका वीरगन्जका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले आज नगरवासीको तर्फबाट नागरिक अभिनन्दन गरेको छ ।

आदर्शनगर स्थित पुरानो बस पार्कमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नेपाली राष्ट्रिय क्रिकेट टिमका सहोदर दाजुभाइ आरिफ शेख र आसिफ शेखलाई अभिनन्दन पत्रसहित फुल माला अबिर, दोसल्ला ओढाएर सम्मानित गर्नुभयो ।

सो अवसरमा नगर प्रमुख सिंहले वीरगन्ज महानगरको तर्फबाट दुवै खेलाडीलाई एक एक थान यमहा एफ जेड एफ आइ मोटरसाइकल पुरस्कार स्वरूप प्रदान गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले नेपाललाई विश्वकप क्वालिफायरमा पुर्‍याउन विशेष भूमिका निर्वाह गरेका शेख दाजुभाइ वीरगञ्जका गौरव र गहना भएको बताउनुभयो ।

सो अवसरमा शेख दाजुभाइले महानगरले गरेको सम्मानप्रति आभार व्यक्त गर्दै नगरवासीको तर्फबाट वीरगञ्ज महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमले आफूहरूलाई अझ हौसला थपिदिएको बताउनुभयो ।

वीरगञ्जको आदर्शनगर स्थित पुरानो बसपार्कमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, वीरगञ्जका उद्योगी, व्यवसायी, सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

यसैबीच सोही कार्यक्रममा वीरगञ्ज महानगरपालिकाले सरसफाइ सम्बन्धी सफा एपको समेत शुभारम्भ गरेको छ । नगर प्रमुख सिंहले एपको शुभारम्भ गर्दै यसले वीरगञ्जको सरसफाइमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button