नवनियुक्त मन्त्री यादवद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय नीति तर्जुमा समिति गठन गर्ने निर्णय गर्नुभएको छ ।
मन्त्री यादवले आज पद बहाली गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई समाजले हेर्ने दृष्टिकोणमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
“महिलाको अधिकारको लागि बनाउनुपर्ने कानुन, वर्तमान मन्त्रालयका यथास्थितिका समस्यालाई सामूहिक छलफल गरी समाधान गर्छौँ । जनतालाई सुशासनको अनुभूति दिलाउँछौँ ।” उहाँले भन्नुभयो ।
मन्त्री यादव यसअघि २०५४ सालमा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योग मन्त्री र सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।
गत मङ्सिर ४ को निर्वाचनमा सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । मन्त्री यादवको जन्म विसं २०११ मा सर्लाहीको हरिपूर्वा नगरपालिकामा भएको हो ।
विसं २०३७ मा नेकपा (एमाले)को सदस्यका रुपमा उहाँको राजनीतिक यात्रा सुरु भएको थियो । उहाँले २०६२÷६३ सालको आन्दोलनपछि एमाले परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) स्थापना गर्नुभयो । तर केही समयपछि तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टीको स्थापना र त्यसपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको सदस्य बन्नुभएको थियो ।
मन्त्री यादवले मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ सालमा नेकपा९एमाले०बाट प्रतिनिधिसभामा उम्मेदवार तथा सर्लाहीबाट निर्वाचित हुँदै संसदीय यात्रा सुरु गर्नुभयो ।
विसं २०६४ को संविधानसभा सदस्यमा सर्लाहीबाट निर्वाचित हुनुभएको उहाँले दोस्रो संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट निर्वाचित हुनुभयो ।
यादव विसं २०७४ को निर्वाचनमा सर्लाही(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२ बाट निर्वाचित हुनुभएको हो ।
प्रतिक्रिया राख्नुहोस्