तपाईँ सुन्दै हुनुहुन्छः

वित्तीय अनुशासन कायम गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश प्रदेश सरकारले प्रदेशलाई समृद्ध बनाउने लक्ष्यलाई पुरा गर्नमा अमेरिकी सरकारले सार्वजनिक वित्त व्यवस्थापनको कार्यक्रम प्रदेशमा सञ्चालन गर्न लागेकोमा खुशी व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री यादवले यूएसएड सार्वजनिक वित्तीय व्यवस्थापनको जनकपुरधाममा शुभारम्भ गर्दै प्रदेश सरकार सुशासन स्थापनाका लागि प्रयत्नरत रहेको बताउनुभयो । यस कार्यक्रमबाट आर्थिक अनुशासन कायम गर्नमा थप मद्दत पुग्ने उहाँको भनाइ छ ।

उहाँले कार्यक्रमले प्रदेशमा आर्थिक अनियमितता नियन्त्रण गर्न, पारदर्शिता कायम गर्न तथा प्रदेशलाई समृद्ध बनाउन मद्दत पुग्नुका साथै प्रदेश सरकारलाई थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

सामाजिक विकासमन्त्री सुरिता कुमारी साहले सार्वजनिक क्षेत्रको वित्तीय व्यवस्थापनका लागि अमेरिकी सरकारको सहयोग लागु हुन लागेको सार्वजनिक वित्तीय व्यवस्थापन सम्बन्धी परियोजना महत्वपूर्ण भएको बताउनुभयो ।

नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले सार्वजनिक वित्तीय व्यवस्थापन मार्फत प्रदेशमा सुशासन कायम भएर लोकतन्त्र बलियो बन्ने विश्वास अमेरिकी सरकारको रहेको बताउनुभयो ।

अमेरिकी सरकारले अमेरिकी विकास नियोग (यूएसआइडी) मार्फत मधेश र लुम्बिनी प्रदेशमा पाँच वर्षका लागि संघीय, प्रदेश तथा स्थानीय तहसँग मिलेर सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य लिएको छ । यी तीन वटा सरकारको निकाय मार्फत सार्वजनिक वित्तीय व्यवस्थापन कार्यक्रमका लागि २ अर्ब ६२ करोड खर्च गरिने जानकारी कार्यक्रममा गराइयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button