तपाईँ सुन्दै हुनुहुन्छः

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 

सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मी लगायतको सहभागिता थियो । 

प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । 

शपथ ग्रहण गर्नेहरूमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा.प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकास मन्त्रीका रुपमा सीता गुरुङ हुनुहुन्छ । 

यस्तै, नेकपा (माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले पनि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । 

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रीमा वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीकामा प्रकाश जवालाले शपथ लिनुभएको छ । 

जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राईले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएको छ । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button