तपाईँ सुन्दै हुनुहुन्छः

अर्मपर्मले थेगेको खेती

सल्यान । यतिबेला पहेँलपुर भएर पाकेको गहुँ भित्र्याउने मौसम हो । बारीमा पाकेको गहुँ र पाकेको गहुँमा पानी परिरहँदा किसान दिनरात नभनी गहुँ काट्न व्यस्त छन् ।

गाउँघरमा पहिलेको जस्तो अर्मपर्म गर्ने चलन हराउँदै गएको कुमाख गाउँपालिका ३ की किसान हिरा शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अर्मपर्म चल्दै चल्दैन भन्ने त होइन तर पहिलाजस्तो अर्मपर्मबाटै खेतीपातीका काम टार्ने अवस्था छैन ।’ गाउँमा श्रमिकको अभाव हुँदा आलोपालो मिलाएर अर्मपर्म नगरी निर्वाह नचल्ने उहाँको भनाई छ ।

कृषि गर्ने जनशक्तिको अभाव हुँदा अर्मपर्म नै विकल्प भएको अर्का किसान मेनका जैसीको भनाई छ । उहाँले भन्नुभयो, ‘धेरैजसो युवाहरू विदेश, थोरै भएका पढ्नेमा नै हुने भएकाले अर्मपर्मको चलन चलाउँदै आइरहेका छौँ ।’

वैदेशिक रोजगारीमा जानेसहित पढाई र अन्य रोजगारीका लागि गाउँ छोड्ने क्रम बढ्दा खेतीपाती गर्न निकै सकस हुने गरेको मुना शर्माको भनाई छ । अर्मपर्मका माध्यमबाट सामूहिक कार्य गर्दा सहज भए पनि एकल परिवार हुनेलाई भने निकै समस्या हुने गरेको शर्माले बताउनुभयो ।

श्रमिकको अभाव हुँदा गाउँगाउँमा कृषि उपकरणहरू पनि भित्रिइरहेका छन् । झन्झटबाट मुक्ति पाउन मेशिन आए पनि सडक वरपरकालाई मात्र सहज हुने गरेको किसानको भनाई छ ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा २७ हजार ३ सय ७० मेट्रिक टन गहुँ उत्पादन हुँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button