तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई रु १७ लाख आर्थिक सहयोग

भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि विभिन्न सहयोगी हातहरूबाट सङ्कलित रु १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो रकम हस्तान्तरण गर्नुभयो ।

खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सर पीडित चन्द्रकुमार राईको उपचार सहयोगका लागि स्वदेश तथा विदेशमा रहेका दाताहरूबाट १७ लाख १ हजार १६६ रुपैयाँ सहयोग सङ्कलन भएको हो ।

समाजसेवी केदार आले मगरको नेतृत्वमा सञ्चालित ‘क्यान्सर पीडित चन्द्रकुमार राई बचाऊ अभियान’बाट सङ्कलन भएको रकम हस्तान्तरण गरेको रकम सङ्कलन अभियानका अभियन्ता तथा निवर्तमान प्रहरी सहायक निरीक्षक ईश्वर बन्जाराले जानकारी दिनुभयो  ।

कार्यक्रममा बोल्दै सांसद पासाङले एक व्यक्तिलाई दुःख पर्दा सबैजना एक भएर लागेको देख्दा खुसी लागेको बताउनुभयो ।सहयोग रकम जुटेको देख्दा उहाँले समाज स्वास्थ्यले गाँज्यो भनिए पनि परोपकारी, निस्वार्थ र समाजसेवी व्यक्तिहरू समाजमा उत्तिकै सक्रिय रहेको उदाहरण देखिएको बताउनुभयो ।

कार्यक्रममा मुख्य अभियन्ता केदार आले, समाजसेवी ध्यानकुमार राई, चन्द्रकुमार राई, क्याप्टेन विष्णुभक्त राई लगायतको सहभागिता थियो ।

सङ्कलन अभियानका अभियन्ता बन्जाराले समाजसेवी राईलाई आर्थिक सहयोग गर्न तन, मन र बचनले  जोडिनु भएका सबैमा हार्दिक नमन गर्नुभयो ।

राई बिगत ६/७ महिना देखि इन्डियाको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एड रिसर्च सेन्टर हस्पिटलमा दीर्घ क्यान्सर रोगको उपचार गराई रहनु भएको छ ।

सके सम्म अरू कसैलाई पनि आर्थिक रुपमा दुःख नदिऊँ भन्ने सोचले उपचारमा निरन्तर लागि रहनु भएका राईको अहिले सम्म उपचारका क्रममा रु १८ लाख खर्च भई सकेको उहाँले बताउनुभयो ।

डाक्टरको परामर्श र सुझाव अनुसार औषधी सेवनमा मात्र उहाँलाई एक महिनामा रु दुई लाख लाग्ने गरेको छ । राईले बिगत ७ महिना यता महँगो औषधी खाइरहनु भएको छ ।

राईलाई संविधानसभा सदस्य विशाल भट्टराई लगायत एक सय ५२ जना दाताले एक हजारदेखि तीन लाख ५० हजार रुपैयाँसम्म सहयोग गरेको अभियन्ता बन्जाराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button