तपाईँ सुन्दै हुनुहुन्छः

कृष्णनगरदेखि भैरहवा मेडिकल कलेजसम्म जाने बिरामीका लागि निःशुल्क बस सेवा 

कपिलवस्तु । कृष्णनगर नगरपालिकादेखि भैरहवा मेडिकल कलेजसम्मका लागि निःशुल्क बस सेवा सञ्चालनमा आएको छ । 

कृष्णनगर नगर प्रमुख रजत प्रताप शाहले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवा लागि आज निःशुल्क बस सेवाको उद्घाटन गर्नुभयो  ।

हरेक हप्ताको सोमबार, बुधबार र शुक्रबार गरि तीन दिन बिरामीहरूले बस सेवा पाउने भैरहवा मेडिकल कलेजले जनाएको छ । 

कृष्णनगर नगरपालिकाको प्रतिनिधित्वमा भैरहवा मेडिकल कलेज अस्पतालद्वारा निःशुल्क बस सेवा सञ्चालन गरिएको हो । 

कृष्णनगर बजार हुँदै बहादुरगञ्ज, मोहन मिष्ठान भण्डार, छोट्की तौलिहवा, कोदहा, गोपालपुर, पिपरहवा, बाणगंगा पुल, बर्गदा, जुगनी, मैडहवा, बरईपुरा, राजपुर, जिगिना, तौलिहवा अस्पताल हुँदै भैरहवा मेडिकल कलेज बस जाने जनाइएको छ । 

मेडिकल कलेज जाने बस कृष्णनगर नगरपालिकाको गेटबाट छुट्ने जनाइएको छ । कृष्णनगरदेखि बस बिहान ८ः०० बजे छुट्ने र भैरहवा मेडिकल कलेज अस्पतालबाट दिउँसो ४ः०० बजे बस छुट्ने बताइएको छ । 

नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका सर्वसाधारण बिरामीहरूलाई मध्यनजर गर्दै भैरहवा मेडिकल कलेजको निःशुल्क बस सेवा सञ्चालन भइरहेको हुँदा अस्पतालसम्म जाने, आउने बिरामीहरूलाई नगरपालिकाको पहलमा बस सुविधा सञ्चालन गरिएको बताउनुभयो । 

बस सेवा सञ्चालनले बिरामीलाई उपचारका लागि आउने जाने समस्या समाधान हुने नगर प्रमुख शाहले बताउनुभयो । उहाँले अति विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

भैरहवा मेडिकल कलेजका प्रशासन संयोजक तेज प्रसाद केसीले मेडिकल कलेजले दिने सेवा सुविधाहरू बिरामीलाई छिटो–छरितो रुपमा उपलब्ध गराउने बताउनुभयो। उहाँले अति विपन्न, गरिब परिवारका बिरामीलाई मेडिकल कलेजबाट छुट हुने सुविधा पनि रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button