तपाईँ सुन्दै हुनुहुन्छः

खप्तड गोल्डकपको उपाधिका लागि थ्री स्टार र मनाङ भिड्ने

धनगढी । ए डिभिजनको थ्री स्टार क्लब छैटौँ संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार धनगढी रङ्गशालामा भएको खेलमा आयोजक सुदूरपश्चिम-११ लाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै थ्री स्टारले फाइनलमा मनाङ मर्स्याङ्दीसँगको भेट पक्का गरेको हो । फाइनल खेल चैत्र १८ गते हुने छ ।

खेलको ३० औँ मिनेटमा पहेँलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४ औँ मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । थ्री स्टार क्लब १० खेलाडीमा सीमित भए पनि पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

विक्रम लामाले ८३ औँ मिनेटमा हेड मार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको इन्जुरी समयमा सुदूरपश्चिम-११ का माधव भण्डारीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि खेल पेनाल्टी सुट आउटमा धकेलियो ।

पेनाल्टी सुट आउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोके पनि फागुराम चौधरी र माइकल शाही भने गोल गर्न सफल भए ।

थ्री स्टारका विक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाले गोल गरेका थिए । खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान बिक्रम लामा घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button