तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : दुई गोलसहित क्यामरुनले हात पार्यो उपाधि

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत बिहीबार भएको फाइनल खेलमा घरेलु भोजपुरको टिमलाई पराजित गर्दे गोल्डकपको उपाधि एभिनिएर फुटबल क्लब क्यामरुनले जितेको छ ।

खेलको निर्धारित समयमा क्यामरुनका तर्फबाट एक गोल भएको थियो भने अन्तिम समयमा थप गरिएको अतिरिक्त पाँच मिनेटको समयमा फेरी अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घलाई दुई गोलले पराजित गर्दे गोल्डकपको उपाधि हात पारेको हो ।

क्यामरुनका तर्फबाट जर्सी नम्बर १६ का नगुइनीले खेलको ४२ औ मिनेटमा एक गोल गरे भने अर्का जर्सी नम्बर १० का खेलाडी टिम्बाले थप समयको ८३ औँ मिनेटमा एक गोल गरेका थिए । फाइनल खेलको म्यान अफ द म्याच भोजपुरका खेलाडी धिरज मगर भएका छन् ।

यस्तै खेलको व्यक्तिगत विधातर्फ उदयमान खेलाडीमा भोजपुरका बिनुप राई, उत्कृष्ट गोलरक्षकमा क्यामरुनका एलिन, उत्कृष्ट रक्षकमा क्यामरुनका एनसनगोउ, उत्कृष्ट मिडफिल्डर क्यामरुनका नगुइनी, सर्वाधिक गोलकर्ता भोजपुरका सन्तोष तामाङ र क्यामरुनका टिम्बा भएका छन् भने सर्वोत्कृष्ट खेलाडी भोजपुरका विजय भुजेल भएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

खेलका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आले लगायतले पुरस्कार प्रदान गरे । चैत्र १० बाट सुरु प्रतियोगिताका खेल फाइनलसँगै समापन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button