सोह्रौँ रामनवमी कप भलिबलको उपाधि झापालाई
धनकुटा । झापाले धनकुटाको हिलेमा जारी सोह्रौँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार भएको फाइनल खेलमा झापाले भोजपुरलाई तिन एकको सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो ।

झापाले २१–२५, २५–२०, २५–२१ र २५–२१ को सेटले भोजपुरलाई पराजित गर्यो । झापाले उपाधिसँगै नगद एक लाख हात पारेको छ । दोस्रो भएको भोजपुरले नगद ५० हजारमा चित्त बुझायो ।
झापा सङ्खुवासभालाई पराजित गर्दै तथा भोजपुर सुनसरीलाई पराजित गर्दै फाइनल पुगेका थिए ।

त्यस्तै अर्को खेलमा तिन दुइको सेटले सुनसरीलाई पराजित गर्दै सङ्खुवासभा तेस्रो भयो । तेस्रो भएसँगै सङ्खुवासभाले २५ हजार हात पार्यो ।
हिले भलिबल क्लबको आयोजनामा कोशी प्रदेशका ८ जिल्ला टिम सहभागी भएको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो । रामनवमीको अवसरमा धनकुटाको हिलेमा प्रत्येक वर्ष यो प्रतियोगिता हुँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्