तपाईँ सुन्दै हुनुहुन्छः

अख्तियारको वार्षिक प्रतिवेदन संसदमा पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्रीका तर्फबाट सञ्चार तथा सूचनाप्रविधी मन्त्री रेखा शर्माले सभासमक्ष उक्त प्रतिवेदन पेस गर्नुभयो ।

बैठकमा बोल्ने सांसदहरूले मिटर ब्याज पीडितहरूको माग सम्बोधनका लागि तत्काल ठोस निर्णय लिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकको विशेष समयमा बोल्दै सांसदहरूले देशका विभिन्न स्थानबाट काठमाडौंमा आई आन्दोलनरत मिटर ब्याजपीडितहरूका साथै वित्तीय संस्था, सहकारी लगायतका ऋणीमा मानसिक समस्यादेखि घरबारविहीन हुने जस्ता विकराल अवस्था आएकाले समस्या समाधानका लागि पहल लिन सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।

यस्तै सांसदहरूले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलन थप चर्किन नदिन सरकार संवेदनशील हुनुपर्ने, देशको कमजोर अर्थतन्त्रलाई उकास्न सरकार जिम्मेवार बन्नुपर्ने, हवाई उडानलाई सुरक्षित बनाइनुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै सांसदहरूले मन्त्रालयहरू मन्त्रीविहीन भएको महिना दिन बितिसकेको अवस्थामा पनि मन्त्रीमण्डल विस्तार हुन नसक्दा आम जनतामा निराशा छाएकोतर्फ सरकारलाई सचेत गराउनुभयो ।

बैठकमा सांसदहरू श्यामकुमार घिमिरे, भगवती चौधरी, हितबहादुर तामाङ, सोविता गौतम, बुद्धिमान तामाङ, भानुभक्त जोशी, अनिता देवी, रन्जिता श्रेष्ठ, रामप्रकाश चौधरी लगायतले बोल्नुभएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक चैत्र १९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button