तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि लुम्बिनीमा दुई दिने मिडिया सम्मेलन हुँदै

रुपन्देही । नेपाल पत्रकार महासङ्घले बुद्ध जन्मस्थल लुम्बिनीमा भोलिदेखि दुई दिने राष्ट्रिय मिडिया सम्मेलनको आयोजना गरेको छ । 

महासङ्घले आफ्नो ६८औँ स्थापना दिवसको अवसर पारेर लुम्बिनीमा चैत १६ र १७ गते दुई दिने मिडिया सम्मेलन गर्न लागेको जनाएको छ ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले आज बुटवलमा पत्रकार सम्मेलन गर्दै लुम्बिनीमा गरिने मिडिया सम्मेलनमा सदस्यता शुद्धीकरण, मुलुकमा देखिएको आर्थिक सङ्कटले मिडियामा निम्ताएको असर र स्थानीय तहले बनाएका कानुनहरूका विषयमा बृहत् बहस र छलफल गरिने बताउनुभयो ।

सम्मेलनमा मिडियाका लगानीकर्ता, सरकारी प्रतिनिधि र रिसर्चरहरू समेत गरी देशभरबाट २५० जना सहभागी हुनेछन् । 

सम्मेलनको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

१६ गते महासङ्घले स्थापना दिवसमा उपत्यका बाहिर पश्चिम नवलपरासीमा प्रभातफेरी कार्यक्रम गर्ने समेत जनाएको छ । परासीमै महासङ्घको ८औँ बैठक र साँझ लुम्बिनीमा दीप प्रज्वलन गर्ने कार्यक्रम समेत राखिएको महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button