तपाईँ सुन्दै हुनुहुन्छः

चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा

५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने

काठमाडौँ । यही चैत १७ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइईको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्ड (माध्यमिक शिक्षा परीक्षा, कक्षा १०)को कार्यालयले जनाएको छ । 

परीक्षा केन्द्र तोक्नेदेखि काठमाडौँ उपत्यकाका बाहेक सबै परीक्षा केन्द्रमा उत्तर पुस्तिका र प्रश्न–पत्र पुर्‍याइसकिएको राष्ट्रिय परीक्षा बोर्ड मातहतको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

दृष्टिविहीन परीक्षार्थीलाई भने आफू अध्ययन गरिरहेकै विद्यालयबाटै परीक्षा दिन सक्ने गरी व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिनुभयो । 

यस पटकको एसइई परीक्षाका लागि २ हजार ३७  परीक्षा केन्द्र तोकिएको छ भने ५ लाख १६ हजार ५ सय ९१ जना विद्यार्थी परीक्षामा सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले जनाएको छ । 

परीक्षामा सबैभन्दा बढी १ लाख ६ हजार विद्यार्थी बागमती प्रदेशबाट सहभागी हुँदै छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट जम्मा ४१ हजार विद्यार्थी सहभागी हुँदै छन् । यसपटक विद्यार्थीलाई सहज हुने गरि नै परीक्षा केन्द्र तोकिएको नियन्त्रक श्रेष्ठ बताउनुहुन्छ ।  

एसइई परीक्षा बिहान ८ः०० बजेदेखि सुरु भई ११ः०० बजे सकिनेछ  । परीक्षा तालिकाअनुसार पहिलो दिन १७ गते अनिवार्य अङ्ग्रेजीको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत र साहित्यको परीक्षा हुनेछ । दोस्रो दिनको परीक्षा चैत १९ अनिवार्य गणितको छ भने चैत २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । 

त्यस्तै, चैत २२ गते अनिवार्य विज्ञानको परीक्षा हुने तालिका रहेको छ भने  वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवादको परीक्षा हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button