तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारी सिर्जना र राजश्व वृद्धिमा ध्यान दिन मुख्यमन्त्री कार्कीको आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा रोजगारी सिर्जना गर्ने, राजस्व वृद्धि हुने र सौन्दर्यीकरण हुने योजनातर्फ ध्यान दिन स्थानीय तहका जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ ।

आज विराटनगरमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, कोशी प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पहुँचका आधारमा विकासको बजेटलाई जथाभाबी रुपमा सडक, पुल र भवन जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्न नहुने बताउनुभयो ।

पुँजीगत खर्च गर्दा सङ्घीय र प्रदेश सरकार भन्दा पनि स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेतर्फ सचेत गराउँदै जनतामा वितृष्णा बढाउने किसिमका योजनामा लगानी नगर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले गोरु गाडादेखि गुन्द्रुक बिक्री गर्ने सम्मलाई करको दायरामा ल्याएको विगतको अभ्यास रहेको स्मरण गराउँदै लोकप्रियताका नाममा कर छुट दिने र वृद्धि गर्ने भन्दा पनि करको दायरा बढाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

अहिलेको बजेटबाट धेरै काम गर्न नसके पनि स्थानीय तहलाई बलियो बनाउने र स्थानीय तहसँग समन्वय गरेर काम गर्ने कुरामा प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ ।

उहाँले मुलुक सङ्घीयतामा गएसँगै विकास निर्माणका कामले गति लिएको स्मरण गराउँदै सङ्घीय सरकारले २० वर्षमा गर्न नसकेको विकासको काम प्रदेश सरकारले पाँच वर्षको अवधिमा गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

सङ्घकी प्रदेश उपाध्यक्ष उर्मिला राईले पालिकाका जनप्रतिनिधिहरूले जनतालाई विकासको अनुभूति गराउनुपर्ने विचार राख्नुभयो ।

कार्यक्रममा गाउँपालिका महासङ्घका प्रदेश अध्यक्ष ताराबहादुर काफ्लेले प्रतिवेदन पेश गर्नुभएको थियो । अधिवेशनमा प्रदेशका ८८ पालिकाका अध्यक्ष र उपाध्यक्षको सहभागिता रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button