तपाईँ सुन्दै हुनुहुन्छः

वीरगञ्जबाट ८ महिनामा १ अर्ब ७९ करोड बढीको निर्यात

वीरगञ्ज । वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै चालु आर्थिक वर्ष २०७९/०८० को ८ महिनामा भारत तथा तेस्रो मुलुकतर्फ १ अर्ब ७९ करोड ३९ लाख १२ हजार मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्यान्ड लगायतका मुलुकहरूमा नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र प्रसाद चुँडालले जानकारी दिनुभयो ।

आइसिपी भन्सार नाका हुँदै प्रशोधित भटमासको तेल ५ करोड ७९ लाख ८१ हजार मूल्य बराबरको २ लाख ४७ हजार ६ सय ५ किलो ग्राम भारत निर्यात भएको छ । त्यसैगरी ६० करोड ३७ लाख ८३ हजार मूल्य बराबरको ३३ लाख ५७ हजार ५ सय ८१ लिटर प्रशोधित पाम आयल निर्यात भएको छ ।

त्यसैगरी ५३ करोड ३४ लाख ८१ हजार मूल्य बराबरको ६२ लाख ८० हजार ९ सय ७२ लिटर डाबर नेपालले उत्पादन गरेको जुस भारत निर्यात भएको छ ।

१ करोड ५२ लाख २२ हजार मूल्य बराबरको सूर्यमुखी प्रशोधित तेल २ करोड ५९ लाख मूल्य बराबरको सेन्थेटिक यार्न समेत वीरगञ्ज नाकाबाट भारत तर्फ निर्यात भएको छ ।

वीरगञ्ज नाकाबाट १२ करोड ५२ लाख ६६ हजार मूल्य बराबरको २८ लाख ४५ हजार किलो पिना निर्यात भएको छ । वीरगञ्ज नाकाबाट नेपाली कपडाका साथै प्लाष्टिकको बिर्को ढकनी, लिड सिसा, दन्तमन्जन, स्पोर्ट सुज, सेन्थेटिक सुज, जमोठ कपडा, तयारी कपडा, कुकुर तथा बिरालोको खाना, फ्याटी एसिड आयल, कपडाका बोरा, वाद्य यन्त्र, उनी गलैँचा लगायतका सामान भारत तथा तेस्रो मुलुक निर्यात भएको आइसिपी भन्सार वीरगन्जले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button