तपाईँ सुन्दै हुनुहुन्छः

रङ्गमञ्च विश्व समुदाय जोड्ने माध्यम : पर्यटनमन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले रङ्गमञ्च छरिएर रहेका विश्व समुदायलाई जोड्ने माध्यम रहेको बताउनुभएको छ ।

बैसठ्ठीऔँ विश्व रङ्गमञ्च दिवसको अवसरमा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा उहाँले मित्र राष्ट्रहरूसँग भावनात्मक सम्बन्ध निर्माण गर्ने भरपर्दो पुलको काम रङ्गमञ्चले गर्ने बताउनुभयो ।

file photo

पर्यटनमन्त्री किरातीले रङ्गमञ्च जीवन र जीविकाका लागि रहेको उल्लेख गर्दै यसलाई पर्यटनसँग जोडेर विकास र उन्नयनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो ।

विश्व रङ्गमञ्च दिवसको अवसरमा प्रतिष्ठान र माला आर्ट्स एकेडेमीको संयुक्त आयोजनामा प्रतिष्ठान परिसरमा भएको कार्यक्रममा वरिष्ठ नाटककार अभि सुवेदीले विश्व रङ्गमञ्च सन्देशका रूपमा अन्तर्राष्ट्रिय रङ्गमञ्च संस्थाले छनोट गरेको इजिप्टकी प्रख्यात अभिनेत्री समिहा अयुवाद्वारा लिखित सन्देशको नेपाली अनुवाद वाचन गर्नुभएको थियो । उक्त सन्देश डा शिव रिजालले नेपालीमा अनुवाद गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेलले ६२ औँ रङ्गमञ्च सन्देशका लेखक समिहा अयुवका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिष्ठानका कुलपति निशा शर्माले मौलिक कलाको संवर्द्धन र प्रवर्द्धनका निम्ति हरेक पालिकामा रहेका मौलिक कला तथा सोसँग सम्बन्धित व्यक्तिहरूसँगको अन्तरवार्ता आर्काइभका रूपमा राख्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिष्ठानका उपकुलपति शम्भु राईले प्रज्ञा प्रतिष्ठानसँग जग्गा उपलब्ध भए पनि कार्यक्रम गर्ने हलको अभावमा पाल टाँगेर कार्यक्रम गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अभिनेता सरोज खनालले रङ्गमञ्चलाई प्रवर्द्धन गर्नका निम्ति माला आर्ट्स एकेडेमीमार्फत विविध गतिविधिहरू गर्दै आएको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई तथा ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तुछाली, प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञलगायत वरिष्ठ स्रष्टा तथा सर्जकहरूको उपस्थिति रहेको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button