तपाईँ सुन्दै हुनुहुन्छः

चैती छठ मनाइँदै

ललितपुर गोदावरी।चैत शुक्ल चतुर्दशीका दिनदेखि सुरु भई सप्तमीसम्म हुने चैती छठ पर्व सूर्यको आराधना गरी उपत्यका र तराईका विभिन्न क्षेत्रमा मनाइँदैछ । श्रद्धा र निष्ठाका साथ बर्तालु व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ मनाइने गर्दछन् । चैत महिनामा गरिने हुनाले यसलाई चैती छठ भनिन्छ ।

तराई र छिमेकी देश भारतमा मात्र मनाउने गरिएको छठ पर्व अहिले मानिसको बसाइँसराइले गर्दा राजधानीलगायत पहाडी जिल्लामा समेत मनाउने गरिन्छ ।विशेष गरी चैती छठ तराई जिल्लामा धुमधामसँग मनाइन्छ । सूर्य उपासना गरी मनाइने छठअर्थात् दिनकर दिनानाथ, छइठ छैठ, छठी, आदि नामले जानिने पर्व उपत्यकाको ललितपुर जिल्लामा यस वर्ष पनि पोखरी, नदी र घरमा हर्षोल्लासका साथ मनाउन लागिएको छ । चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेष गरी निसन्तान हुने र छाला रोगीले छठ पूजामाथि बढी अस्था राखेको हुन्छ ।

कमलपोखरी, बागमती खोला, गोदावरी खोलालगायत विभिन्न स्थानमा भव्यताका साथ छठ पूजा मनाउन थालिएको छ । “अहिले सहरका पोखरी र नदी फोहर भएको हुनाले घरमै परिवार, छिमेकी, र आफन्तलाई बोलाइ रातभर जागरण बसी मिलेर छठ मनाउने गर्छु”, ललितपुर बाहुनचौरमा बस्ने बर्तालु ललिता झा भन्नुहुन्छ, “समान सबै यहीँ पाउछँ तर गएको वर्षभन्दा चार गुणा समानको दाम महगों भएको छ । हामीजस्तो गरिब मान्छेलाई पूजाको समान किन्न गाह्रो भएको छ ।”

यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । यसले गर्दा पारविरिक तथा समाजिक सद्भाव बनि राख्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँदो सूर्यलाई पुनः अघ्र्य दिई पूजा बिसर्जन गरिन्छ ।

साहित्यकार तथा संस्कृतविद्य विनित ठाकुरका अनुसार प्राचीनकालदेखि नै छठ माताको पूजाआजा गरेपछि भाकल गर्नेको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । उहाँले भन्नुभयो, “यो प्राकृति र किसानको पर्व हो । यसमा किसानले जुन नयाँ अन्नबाली उत्पादन गर्छ त्यसको पूजा गरिन्छ ।”

यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने र निसन्तानको सनतान हुने पनि जनविश्वास गरिन्छ । केही भक्तजनले भाकल गरेको हुन्छ, घरबाट साँझ र बिहान घर्सिंदै नदी वा पोखरीको किनारमा गई स्नान गरी व्रत पूरा गर्छन् । कतिले मनोकामना पूरा भएमा नटुवा नाच नचाउने, सप्तमीको बिहान दन्तवन, दूध, फूल, तथा दियो बाल्ने जस्ता कार्य पनि गर्छन् ।

ऋग्ेद, अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातबास बसेको बेला कुन्ती, द्रौपदीसहित पाण्डवले यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा लङ्काबाट श्री राम सीता माता फर्किंदा सीता माता गङ्गा नदीको किनारमा छठ व्रत गरेको बताइन्छ । छठ पर्व मिथिला क्षेत्रबाट सुरु भएको ठाकुरको भनाइ छ ।

मिथिला तथा भोजपुरीया क्षेत्रका मानिस देशविदेश गई छठ पूजा गर्नाले अहिले सङ्ख्यात्मक रुपमा छठ पूजा गरिन्छ । कात्तिकभन्दा चैतमा गर्मी र लामो दिन भएको हुनाले व्रत लिने कम हुन्छन् । परम्परानुसार छठको सुरु दिनदेखि साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अघ्र्य दिएपछि रातभर नदी तथा तलाउ किनारमा महिला बसी छठको लोकगीत गाउने गरिन्छ ।

जल्दी सँ उग हे सुरज देव, अब नै करु अबेर ।।
पवनौतीन जलमे ठार छैन, भगेल अरघ के बेर ।
कोशिया कुरबार पर चौमुखी दीप, रखल केराके घेउर ।
ठकुवा आ भुसवासँग, नारियल राखल सूपामें पञ्चमेल ।।”

सूर्य उपासनासँग सम्बन्धित छठ पर्व प्रत्येक वर्ष चैत शुक्ल पञ्चमी र षष्ठीका दिन मनाइने गरिन्छ । व्रत बस्ने स्नान गरेर उपवास बसी आत्म शुद्धि गर्छन्, जसलाई खर्ना भनिन्छ । षष्ठीका दिन नदी, नहर र पोखरीको घाटमा बर्तालुले स्नान गरी बेलुकाका समयमा जलाशयमा उभिएर सूर्यलाई फलफूल, ठेकुवा र कसार अघ्र्य दिन्छन् । बर्तालु भक्तजन राति धेरैजसो नदी किनारमा बास बस्छन् भने केही घर फर्किन्छन् । तर शुद्धाशुद्धीको धेरै विचार गर्नुपर्ने भएकाले कहीँकतै अशुद्ध नहोस् भन्नेमा उनीहरू सजग हुन्छन् । साहित्यकार ठाकुरले भन्नुहुन्छ, “यो सबै जातजाती र धर्मले गर्ने पर्व हो । शुद्ध भावनाले यो व्रत गर्नाले तुरुन्त फल पनि पाइने विश्वास छ । त्यसकारण मनले मात्र शुद्ध नभएर सबैथोक चोखो हुनुपर्ने हुनाले बर्तालुले मात्र नभई सम्पूर्ण परिवारले हप्ता दिनदेखि नै यसलाई कडाइका साथ पालना गर्छन् ।”

षष्ठीको भोलिपल्ट सप्तमी तिथिको बह्मा मुहुर्तमा मानिस पूजा सामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अघ्र्य दिएपछि छठ पर्व सकिन्छ र प्रसाद बाँडिन्छ । छठको प्रसादमा मिठाई, ठेकुवा, उखु, केराउ, कसार, केरा, नरिवल, कागती, अदुवा आदि समान राखिन्छ । विशेष गरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ ।

वरिष्ठ चिकित्सक भूपेन्द्र बस्नेतका अनुसार सूर्यको प्रकाशमा भिटामिन डी प्राप्त हुने भएकाले मानव शरीर विज्ञानका अनुसार यो व्रतको महत्व आज पनि त्यत्तिकै छ । व्रत गर्दा स्वास्थ्यलाई ध्यानमा राखी व्रत गर्नुपर्छ । चैत महिना लामो र गर्मी भएको हुनाले शरीरमा पानीको मात्रा कम भएर शरीर सुक्खा भई ‘डिहाइड्रेसन’ हुन जान्छ । पानी कम भएमा सबभन्दा बढी किडनीका बिरामीलाई धेरैनै खराबी गर्छ । बिरामी मानिसलाई पानी खाएर व्रत बस्न सल्लाह दिनुभयो ।” उहाँले व्रत गर्नु अगाडि र व्रतसके पछि हल्का खाना खान सल्लाह दिनुहुन्छ ।

यो चाडमा डुब्न लागेको सूर्यको साथै उदाउँदो सूर्यको पनि आराधना गर्ने गरिन्छ । समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन् सम्मान गर्छन् तर डुब्न लागेको घाम गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् तर यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सन्देश पनि दिन्छ । त्यस्तै सूर्यले सबै प्राणीलाई समानरूपमा प्रकाश दिने हुँदा सबैमाथि समान व्यवहार गर्नुपर्छ भन्ने सोच विकास गर्नका लागि सूर्यको पूजा गरिन्छ ।

छालासम्बन्धी रोग निदानका लागि, पुत्र प्राप्तिका लागि र भाकल पूरा गर्न मानिस भक्तिमा लिप्त भएर नजिकैको पोखरी जलाशय कुण्डमा गई यस दिन छठ पूजा गर्दछन् । छैठको पूजा गर्दा बासबाट बनेको ढाकी, सूप पूजाको सामग्री राख्न चाहिन्छ । माटोको भाडा, उखु, केराको बोट, पाकेको केरा, सिन्दूर, बेसार, अदुवा, नरिवल, केराउ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईजस्ता सामग्रीको आवश्यकता पर्दछ ।

चैत शुक्ल चर्तुदशीका दिनदेखि छठ आरम्भ हुन्छ । छठको सुरुआत मानिने यस दिनलाई बर्तालु नहाए खाए भन्दछन् । बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाइधुवाइ गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन् । यस दिनमा बर्तालुले प्रण गर्दछन्, ‘म अब जथाभावी खादिन र तन मनले प्रभुको शरणमा बस्नेछु ।’

छठको दोस्रो दिन चैत शुक्ल पञ्चमीमा विधिवत्रुपमा सुरु भएको छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख बर्तालुले सख्खरको खीर, लौकाको तरकारी, फलजस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन एक छाक मात्र भोजन गर्नुका कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो ।

छठको तेस्रो दिनअर्थात् छठ (सझियाँ घाट) पर्वका दिनमा बर्तालु पानीसमेत नपिइ निरहार बस्दछन् । छठ पूजा गर्ने नजिकैको पोखरी, तलाउ, इना, कुँवाजस्ता ठाउँलाई मासिन सामूहिकमा गई सरसफाइ गर्छन् । घाटलाई बेहुली जस्तै सिँगारिएको हुन्छ ।

साँझपख नजिकैको घाट बनाएको ठाउँमा गएर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन् । छठको सूर्यलाई चढाउनका लागि बनाइएका सामग्री घाटमा लगेर पालैपालो फूल पान लिएर सूर्य देउतालाई अघ्र्य दिइन्छ । यस दिनमा सबैजना सजिसजाउ भएर रातभर लोकगीत, भजनकीर्तन र नाचगान गरिन्छ ।

छठको चौथो दिन चैत शुक्ल सप्तमीका दिन रातभर सूर्यको आराधनामा मग्न भएका भक्तले उदाउँदो सूर्यको पूजाआजा गर्दछन् । बिहानीमा सूर्यको न्यानो किरणसँगै बर्तालुले सबै फूल–पान लिई उदाउँदो सूर्यलाई प्रसादको अघ्र्य दिइन्छ । बिहे भएका महिलालाई सिन्दूरको टिका लगाई प्रसादीको खोइच दिने चलन छ । बर्तालुले ठकुवा भुसुवा फलफूल र मिठाईजस्ता प्रसाद छठी मातालाई अर्पण गरी पूजा बिसर्जन गर्दछन् । त्यसपछि घरमा गई सूर्यको प्रसाद अदुवा र मिठाई ग्रहण गरी अरु खाने कुरा बर्तालुले खान्छन् र लोक चैती महाछठ पर्व समाप्त हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button