तपाईँ सुन्दै हुनुहुन्छः

शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण

सुर्खेत।हुम्लाकी लेखिका वसन्ती शाहीको पुस्तक ‘समय सकस’ सुर्खेतमा लोकार्पण गरिएको छ ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा ‘समय सकस’ लोकार्पण गर्नुभयो ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका शाहीले पुस्तक लोकार्पण गर्दै कोरानाकालमा भोग्नुपरेको स्वास्थ्य र आर्थिक सङ्कटको यथार्थता समेटेर लेखिएको पुस्तकले प्रतिकूलतालाई कसरी अनुकूल बनाउन सिकन्छ भन्नेबारे गरिएको सङ्घर्ष उठान गरेको बताउनु भयो ।

कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्यसमेत रहनुभएकी लेखिका शाहीले पुस्तकमा कोरोनाका कारण विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा पारेको प्रतिकूल प्रभाव, त्यसबाट सिर्जित असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा पारेको असर र भएको मानवीय क्षतिको विषय उठान गरेको बताउनु भयो ।

पुस्तकमाथि बालरोग विशेषज्ञ डा नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार महेन्द्रबहादुर मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले टिप्पणी गर्दै तीन करोड नेपालीको स्वास्थ्यमाथि समकालीन राजनीतिले पारेको प्रभावबारे सरल शैलीमा लेखिएको जनाउनुभयो ।

पुस्तक ४ सय २ पृष्ठको छ । उहाँको कर्णाली बुहारी पुस्तकसहित विभिन्न लेख प्रकाशनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button