तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक जग्गा उत्खनन गर्ने स्काभेटरसहित टिपर नियन्त्रण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित ४ वटा टिपर नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा वीरगञ्ज महानगरपालिकाबाट खटिएको नगर प्रहरीको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।

नगर प्रहरी इन्चार्ज हरिप्रसाद भुषालले टोलीले ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख ५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएर वीरगञ्जको आदर्शनगरस्थित बाल मन्दिरको परिसरमा राखेको बताउनुभयो ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरीको टोली टिपर र स्काभेटर नियन्त्रणमा लिन उत्खनन स्थलमा पुगेको थियो । गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पत्ति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरूलाई कडा कारबाही गर्नुपर्ने माग स्थानीयको छ ।

यसअघि पटक पटक प्रहरी चौकी परवानीपुरलाई खबर गर्दा पनि कुनै पहल नगरेको आरोप लगाउँदै स्थानीय विक्रम पटेलले प्रहरीले वास्ता नगरेपछि महानगरपालिकालाई खबर गरेको बताउनुभयो ।

नियन्त्रणमा लिएको टिपरका चालकहरूको अनुसार उक्त माटो खन्ने कामको ठेक्का चन्द्रिका पटेल नाम गरेका व्यक्तिले लिएका छन् । यद्यपि अहिलेसम्म टिपर र स्काभेटर नियन्त्रणमा लिँदा कसैले पनि रोकटोक तथा दाबी गर्न नआएको नगर प्रहरी प्रमुख भुषालले बताउनुभयो ।

महानगरले केही साता यता सार्वजनिक जग्गाको अतिक्रमण हटाउने अभियान चलाएको बताउँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जग्गा व्यक्तिगत रुपमा प्रयोजन गर्नेलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

साथै उहाँले महानगरका अन्य क्षेत्रमा पनि सार्वजनिक वा गुठीको जग्गा दुरुपयोग भएको वा अतिक्रमणमा परेको भए महानगरलाई खबर गर्न आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button