तपाईँ सुन्दै हुनुहुन्छः

पर्सामा एसइई परीक्षामा यस पटक ९ हजार १ सय ६५ विद्यार्थी सहभागी हुने 

बीरगंज । पर्सामा यस पटकको माध्यमिक शिक्षा परीक्षा एसइईमा ९ हजार १ सय ६५ जना विद्यार्थीले सहभागी हुने भएका छन् । परीक्षालाई मर्यादित, अनुशासित र निष्पक्ष रूपमा सम्पन्न गराउन पर्सा जिल्लामा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । 

पर्सामा १ सय ८५ प्राविधिकतर्फका र ८ हजार ९ सय ८० गरी ९ हजार १ सय ६५ जना विद्यार्थीले एसइई दिने जिल्ला शिक्षा समन्वय इकाई पर्साले जनाएको छ । 

एसइई परीक्षाका लागि पर्सा जिल्लामा आवश्यक तयारी पूरा भइसकेको जिल्ला शिक्षा समन्वय इकाई समितिले जनाएको छ । 

प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष सहित १० जना शिक्षक, १० जना प्रहरी र तीन जना कार्यालय सहयोगी गरी २३ जना जनशक्ति परिचालन गरिने तयारी भइरहेको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो । 

परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले टोली बनाएर निरीक्षण, अनुगमन गरिने व्यवस्था मिलाइएको छ । 

यस बर्ष एसइई परीक्षा आगामी चैत १७ गतेबाट सञ्चालन हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button