तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : ट्राई बेकरमा भारतलाई हराउँदै मोरङ विजयी

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट जारी छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत शनिबार भएको दोस्रो खेलमा ट्राई बेकरमा भारतलाई हराउँदै मोरङ विजयी भएको छ ।

दुवै तर्फबाट एक/एक गोल भएपछि ट्राई बेकरमा खेलाइएको खेलमा युकेएफसी भारतलाई हराउँदै डाँगीहाट यूथ क्लब मोरङ सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा भारतका लागि खेलको २० औ मिनेटमा जर्सी नम्बर ६ का खेलाडी विरेन प्रधानले १ गोल गरेका थिए भने मोरङका तर्फबाट जर्सी नम्बर ६ का विशाल पाण्डेले खेलको ७४ औ मिनेटमा १ गोल गर्दे खेललाई बराबरी अवस्थामा पुर्‍याएका थिए ।

खेल बराबरी भएपछि समय थप नगरी सिधा ट्राई बेकरमा खेल सञ्चालन गरिएको थियो । सो क्रममा डाँगीहाट यूथ क्लब मोरङका तर्फबाट विवेक राई, प्रवीण राई, धिरेन विष्ट र सन याक्खाले चार गोल गरे भने युकेएफसी भारतका तर्फबाट पेमा लामा, तुसार विश्वकर्मा र साहिल राईले तीन गोल मात्र गर्न सफल भए ।

खेलको म्यान अफ द म्याच डाँगीहाट यूथ क्लब मोरङका जर्सी नम्बर १६ का गोलकिपर चरी लिम्बु भएका छन् । शुक्रबार भएको पहिलो खेलमा एनबिवाइसी सप्तरीलाई दुईका विरुद्ध चार गोल गर्दै आयोजक भोजपुर जिल्ला फुटबल संघ सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button