तपाईँ सुन्दै हुनुहुन्छः

तराई मधेससहित मिथिलाञ्चल क्षेत्रमा चैते छठ शुरु

जनकपुरधाम । तराई मधेससहित मिथिलाञ्चल क्षेत्रमा चैते छठ आजदेखि शुरु भएको छ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नहा खा गरेर शुरु भएको चैते छठ अन्तर्गत भोलि पञ्चमी तिथिका दिन खरना विधि रहेको छ ।

खरनामा दिनभरि व्रतीले उपवास बसेर साझ तीर आफैँले पकाएको सख्खरको खीर, पुरी सूर्यलाई अर्पण गरेर नुनरहित खरना अर्थात् खाना खाने चलन छ ।

कार्तिक महिनामा मनाइने शरद ऋतुको छठ जस्तै विधि विधान अनुसार गृष्म ऋतुमा मनाइने छठ पर्व अन्तर्गत षष्ठी तिथिका अस्ताउँदो तथा सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यसको समापन गरिन्छ ।

छठ पर्वमा पानी पनि खान नहुने र थुक पनि निल्न नहुने मान्यताका कारण शरद ऋतु अर्थात् कार्तिक महिनामा मनाइने छठ भन्दा यो छठ अझै कठोर मानिन्छ । जसका कारण यो पर्व मनाउने सङ्ख्या तुलनात्मक रुपमा कम देखिन्छ ।

छठ पर्व गर्ने व्रतीहरू बिहान घर नजिक भएको नदी, तलाउ एवं सरोवरमा स्नान गरेर नयाँ, शुद्ध वस्त्र धारण गरी चोखो खाने कुरा खाने गर्दछन् । जसलाई स्थानीय भाषामा नहा ख भनिन्छ ।

यसमा पनि कार्तिक महिनामा मनाइने छठ जस्तै प्रसादको रुपमा ठेकुवा, भूसवा, केला, उखु, नारियल, अदुवा, मूला, फलफूल सहितका सामाग्रीहरूलाई टपरी, टगरी, सुपली, कुरुवा, ढकना सहितको भाडामा सजाई राखेर सूर्य देवतालाई अर्पण गर्ने चलन छ ।

सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेपछि चैते छठको समापन गरिन्छ । पर्वको समापन भएपछि व्रतीले ४८ घण्टापछि परना अर्थात् खाना खाने चलन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button