तपाईँ सुन्दै हुनुहुन्छः

‘अर्थतन्त्र औद्योगीकरणमा रूपान्तरण हुन नसक्दा देशमा आर्थिक सङ्कट देखा पर्‍यो’

सुर्खेत । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले परम्परागत कमजोर निर्वाहमुखी कृषि प्रणालीमा आधारित अर्थतन्त्र औद्योगीकरणमा रूपान्तरण हुन नसक्दा देशमा गम्भीर खालका आर्थिक सङ्कटहरू देखा पर्न लागेको बताउनुभएको छ । 

नेपाल समाज पार्टी कर्णाली प्रदेशले आयोजना गरेको पार्टी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आज सुर्खेतको वीरेन्द्रनगर आइपुग्नुभएका अध्यक्ष भट्टराईले औद्योगिक अर्थतन्त्रको विकास नहुँदा ग्रामीण युवाहरू बेरोजगार भएर लाखौँको सङ्ख्यामा विदेश पलायन भइरहेको बताउनुभयो  । 

उहाँले अहिले देखापरेका लघुवित्त, सहकारी, मिटर व्याजी, ब्यापार घाटा, बेरोजगारी, शिक्षा–स्वास्थ्य डामाडोल जस्ता समस्या अर्थतन्त्र रूपान्तरण हुन नसक्दा यस्ता समस्या उत्पन्न भएको बताउनुभयो । 

उहाँले तत्काल अर्थतन्त्र सुधारका लागि सरकारले एउटा उच्च स्तरीय आर्थिक समस्या समाधानमा समिति गठन गरेर योजनाबद्ध तरिकाले जुट्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले देशमा तत्काल देखापरेका बेरोजगारी, कुशासन, भ्रष्ट्राचार, अनियमितता जस्ता समस्यामा केन्द्रित भए सरकार पाँच वर्षसम्म स्थिर रहने बताउनुभयो  । 

डा. भट्टराईले नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच तत्काल एकीकरण तथा मर्ज हुने नभए पनि दुवै पार्टी मिलेर अन्य समाजवादी एवं कम्युनिष्टधारका पार्टीहरूलाई एक ठाउँमा ल्याएर नयाँ पार्टी निर्माणको सम्भावना कायमै रहेको जानकारी दिनु बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button