तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा

File Photo

भैरहवा I नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताउनुभएको छ । 

कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज  भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताउनुभयो । “मन्त्री बन्न लागेको कुरामा सत्यता छैन, मेरो प्राथमिकता अहिले काँग्रेसलाई कसरी अझ मजबुत बनाउन सकिन्छ भन्ने मात्र रहेको छ”, उहाँले भन्नुभयो ।

महामन्त्री थापाले आफूलाई अहिलेसम्म कसैले बोलाएर केही पद नदिएको तर लडेरै लिएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो– “केही साथीहरू भ्रममा पर्नुभयो जस्तो छ, मलाई कसैले बोलाएर केही भनेको छैन । जे पाएको छु, लडेर पाएको छु । साथीहरूको माया र शुभेच्छाले अगाडी बढेको छु ।”

महामन्त्री थापाले जनताको असन्तुष्टि र छटपटीलाई सम्बोधन हुने गरी सरकार अघि बढ्नुपर्ने जिकिर गर्नुभयो । “सरकारले जनतालाई राहत  महसुस गराउनुपर्छ”, उहाँले भन्नुभयो । आजभन्दा भोलिको अवस्था राम्रो हुँदै जान्छ भन्ने विश्वास दिलाउने गरी काम गर्न उहाँले सुझाव दिनुभयो । कांग्रेस केन्द्रीय समितिको बैठक समयमा बस्न नसकेको महामन्त्री थापाको गुनासो थियो । 

आठ लाख पार्टी सदस्य भएको र तीन सय स्थानीय तहको नेतृत्व गरिरहेको काँग्रेसलाई जरैबाट मजबुत बनाउनुपर्ने उहाँले जिकिर गर्नुभयो । विसं २०८४ को निर्वाचनमा कांग्रेस देशका १६५ वटै निर्वाचन क्षेत्रमा एक्लै लड्ने र त्यसका लागि तयारी गरिरहेको महामन्त्री थापाले बताउनुभयो ।  रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button