तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण

कर्णाली I कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

प्रदेशसभा सचिवालयले यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाउनुभयो । उहाँले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको बताउनुभयो । कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उहाँको भनाइ थियो ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले संसदीय गतिविधि सम्प्रेषणमा पत्रकारको योगदान महत्वपूर्ण छ भन्नुभयो । कर्णाली प्रदेशसभाले खुला संसद्को अभ्यास गरेर जनतामा लोकतान्त्रिक व्यवस्थाको अनुभूति दिलाएको उहाँले जिकिर गर्नुभयो । पछिल्लो समय प्रदेशसभा सचिवालयमा विधेयक दर्ता नभएको जनाउँदै सचिव बुढाथोकीले कार्य व्यवस्था परामर्श समितिसहित चारवटा विषयगत समितिको पनि गठन हुन नसक्दा काम कारबाही नदेखिएको बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button