तपाईँ सुन्दै हुनुहुन्छः

बीरगञ्ज यूनाईटेड क्लबले बागमती यूवा क्लबलाई हराउँदै क्वाटर फाइनलमा

बारा । बीरगञ्ज यूनाईटेड क्लबले बागमती यूवा क्लबलाई हराउँदै सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुरसिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । बीरगञ्जयूनाईटेड क्लबले बागमती यूवा क्लबलाई ३–० ले हराएको हो । वीरगञ्जको जीतमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरे । पहिलो हाफ बराबरी खेलेको बागमतीविरुद्ध दोस्रो हाफमा वीरगञ्ज हाबी भयो । 

बागमतीविरुद्ध खेलको ५४ औँ मिनटमा विवेक चौधरीले अग्रता लिए । बागमतीका गोलरक्षक रविन बस्नेतको गल्तीको फाइदा उठाउँदै वीरगञ्जका विवेक चौधरीले खाता खोले । डि एरिया छाडेर अघि बढेका गोलरक्षकलाई विट गर्दै विवेकले बललाई डि एरिया बाहिरैबाट गोलपोष्टको दिशा दिएका थिए । १–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपा चौधरीले अग्रता दोब्बर पारे । खेलको ५६ औँ मिनटमा विवेक चौधरीको क्रस बललाई कृपाले गोलमा परिणत   गरे । 

खेल अवधिभर नै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिन्थ्यो । खेलको ८४ औँ मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाए । 

कृपा चौधरीले पेनाल्टी एरियाबाट दिएको व्याकपासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।

बी डिभिजन क्लब बीरगञ्ज सामु निरीह देखिएको बागमतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपि बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जका उत्कृष्ट प्रहार बचाउ गरेका थिए । खेलको आठौँ मिनटमा कृपा चौधरीको उत्कृष्ट प्रहार बागमतीका गोलरक्षकले विफल पारेका थिए । २६ औँ मिनटमा विवेक चौधरीले वन भर्सेस वनको अवसर गुमाउनु भएको थियो  । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा बागमतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ गरेका थिए  । खेलको ३४ औँ मिनटमा कृपा चौधरीको प्रहार बागमतीका अफ्रिकी डिफेन्डर मौसाले गोल लाइनबाट क्लियर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८ औँ मिनटमा सागर चौधरीको क्रसमा विवेक चौधरी डिबक्स भित्रबाट गरेको सशक्त प्रहार बागमतीका गोल रक्षकले विफल पारेका थिए । 

वीरगञ्जको जितमा दुई गोल गरेका विवेक चौधरी खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । उहाँले १० हजार नगद र ट्रफि हातपारका छन् । प्रतियोगिताअन्तर्गत पहिलो क्वाटर फाइनल खेलमा शनिबार केविएग्लोबाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ बिच प्रतिस्पर्धा हुनेछ । भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button