तपाईँ सुन्दै हुनुहुन्छः

‘मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम’

बाँके । सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भएको बताउनुभएको छ ।

नेपालगञ्जमा आज आयोजित मेलमिलापसम्बन्धी आधारभूत तालिमको उद्घाटन समारोहमा न्यायाधीश खतिवडाले समाजमा हुने विवादको मूल कारण पहिचान गर्न सकिए सहज रुपमा समाधानको उपाय लाग्ने बताउनुभयो ।

“विवाद के हो ? कसरी भयो ? र कारण के हो भन्ने विषय पहिचान भएपछि समाधानको उपाय निस्किन्छ”, न्यायाधीश खतिवडाले भन्नुभयो, “विवाद आफैँमा खराब होइन समाजलाई सिर्जनशील परिवर्तनका लागि विवाद आवश्यक हुन्छ विवादबाट बिग्रिएको सम्बन्धलाई मेलमिलापबाट जोड्न सकिन्छ ।”

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम भए पनि मेलमिलापकर्ताको सङ्ख्या पर्याप्त हुन नसकेको बताउँदै न्यायाधीश खतिवडाले मेलमिलापसम्बन्धी आधारभूत तालिम प्राप्त भएपछि मेलमिलाप कर्ममा लाग्न आग्रह गर्नुभयो ।

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश डा रत्नबहादुर बागचन्दले मेलमिलापले जनतालाई न्याय प्राप्त गर्ने प्रक्रियामा ठूलो सघाउ पुगेको बताउनुभयो ।

सामुदायिक मेलमिलापकर्ता, समाज र मेलमिलाप परिषद्को आयोजना तथा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास समितिको समन्वयमा भएको कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडाका मेलमिलापकर्ता सहभागी रहनुभएको छ ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button