तपाईँ सुन्दै हुनुहुन्छः

गुणस्तरीय दूरसञ्चार सेवा पुर्‍याउन मुख्यमन्त्री शर्माको आग्रह

सुर्खेत । कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको अवस्था सुधारका लागि जुट्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार सेवाको गुणस्तर विषयमा सेवा प्रदायक र सरोकारवालाबिच भएको अन्तरक्रिया कार्यक्रम’ मा मुख्यमन्त्री शर्माले कर्णालीमा दूरसञ्चार सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउन सम्बन्धित पक्षसँग प्रदेश सरकार हातेमालो गर्न तयार रहेको बताउनुभयो ।

उहाँले कर्णाली प्रदेशमा गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच आम नागरिकसम्म पुर्‍याउन गरिएका प्रयासहरू तोकिएकै समयमा पुरा नहुँदा सरकारप्रति नै नकारात्मक धारणा बनेकाले सम्बन्धित पक्षहरूलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो । विभिन्न सेवा प्रदायकले निर्माण गरेका संरचनाहरू प्रभावकारी नहुँदा प्रतिकुल मौसमताका कर्णालीको दूरसञ्चार सेवा अस्तव्यस्त हुने गरेको बताउँदै उहाँले सुधारका लागि तत्काल पहल गर्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेशमा गरिबीको रेखामुनि रहने नागरिकको सङ्ख्या उच्च रहेकोले तोकिएका स्थानका लागि सहुलियतपूर्ण दूरसञ्चार सेवा दिन आग्रह गर्नुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य रविन्द्र झाले सेवा प्रदायक नेपाल टेलिकम एवं एनसेललाई तत्काल कर्णाली प्रदेशभरि दूरसञ्चार सेवालाई व्यवस्थित र भरपर्दो बनाउन देखिने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले कर्णाली प्रदेशका केही तोकिएका स्थानका नागरिकका लागि सहुलियतपूर्ण कल वा डाटा उपलब्ध गराउनेबारे सेवा प्रदायक कम्पनीहरूसँग छलफल समेत भइरहेको जानकारी दिनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका बोर्ड सदस्य राममणि दुवाडीले दुर्गम ग्रामीण बस्तीसँगै गाउँपालिका केन्द्रसम्म गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा पुर्‍याउन विभिन्न सेवा प्रदायक मार्फत काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकार मन्त्री तथा सचिव, स्थानीय तहका जनप्रतिनिधि, उपभोक्ताकर्मी, टेलिकम र एनसेल, वर्ल्डलिङ्क लगायतका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button