तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप : आयोजकद्वारा एनबिवाइसी सप्तरी पराजित

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा शुक्रवारबाट सुरु भएको छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको पहिलो खेलमा आयोजक भोजपुरले एनबिवाइसी सप्तरीलाई पराजित गरेको छ ।

खेलको निर्धारित समयमा भोजपुरको तर्फबाट ४ गोल हुँदा सप्तरीले २ गोल मात्र गर्न सक्यो । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा करिब ३२ लाख ८० हजारको लागतमा सञ्चालन भएको प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभएको थियो ।

प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका छन् । जसमा दुई बाहिरी र ६ नेपाली टोली छन् । प्रतियोगितामा युकेएफसी भारत, एभीनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल संघ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट यूथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुर सहभागी छन् ।

शनिवारको खेल युकेएफसी भारत र डाँगीहाट यूथ क्लब मोरङबिच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन् भने व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता चैत्र १६ गतेसम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button