तपाईँ सुन्दै हुनुहुन्छः

योग शिक्षा अहिलेको आवश्यकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री एवं मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाका कुलपति हिक्मतकुमार कार्कीले योग शिक्षा अहिलेको आवश्यकता भएकाले योग शिक्षाबारे सबैलाई जागृत गराउनुपर्ने बताउनुभएको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालय बुढीगंगाद्वारा विराटनगरमा आयोजित ‘स्वास्थ्य नीति तथा व्यवस्थापनसम्बन्धी’ अभिमुखीकरण कार्यक्रममा उहाँले आहार, विहार र योगले मानव जीवनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । स्वास्थ्य जीवनयापनका लागि योग आवश्यक रहेको उहाँको भनाई थियो ।

उहाँले प्राविधिक विश्वविद्यालयले योग शिक्षा अध्यापन सम्बन्धमा दक्ष शिक्षक तथा विद्यालयबाट उत्पादन हुने जनशक्ति बजारमा जोड्न बृहत् छलफल एवं अध्ययन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्राकृतिक चिकित्सा तथा योग विज्ञानका सम्बन्धमा अध्ययन अध्यापन गराउन प्रदेश सरकारले विश्वविद्यालयलाई सहयोग गर्ने उहाँले बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति सुभासश्री पोखरेलले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरेले मुलुकमा आवश्यक पर्ने प्राविधिकतर्फको जनशक्ति उत्पादनमा विश्वविद्यालयले थप अनुसन्धान गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यस अवसरमा डा जनक बस्नेतले प्राकृतिक चिकित्सा तथा योग विज्ञान, डा. दीपेन्द्र श्रेष्ठले अस्पतालमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादन एवं उच्च शिक्षाको शैक्षिक पाठ्यक्रम निर्माणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button