तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिताबारे अनुभव नहुनेले अनलाइन सञ्चालन गर्दा चुनौती बढ्यो : अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अनलाइन सञ्चारमाध्यममा समाचारलाई विश्वसनीय र सन्तुलित बनाउन पत्रकार आचारसंहिता कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ काउन्सिल नेपालले नियमितरूपमा सञ्चालन गर्दै आएको अभिमुखीकरणको २२औँ शृङ्खलामा उहाँले नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई विश्वसनीय, सन्तुलित र खोजमूलक समाचार सामग्री प्रकाशन गर्न सुझाव दिनुभएको हो ।

उहाँले भन्नुभयो, “अनलाइन सञ्चारमाध्यम विश्वसनीय र सन्तुलित बन्न सकेका छैनन् । अनलाइन सञ्चारमाध्यमको सङ्ख्या वृद्धि भएको छ । तर स्रोत, साधन र व्यवस्थापनमा अभाव कायम छ ।”

अध्यक्ष बस्नेतका अनुसार पत्रकारिता अध्ययन गरेका भन्दा बाहिरका व्यक्ति आमसञ्चारमाध्यमको सञ्चालनमा आबद्ध हुने क्रम बढेको हो । त्यसकारण पनि पत्रकार आचारसंहिता र निर्देशिकासम्बन्धी अभिमुखीकरण कार्यक्रम आवश्यक भएको उहाँको भनाइ छ ।

“परिचयपत्र पाइन्छ, ज्याकेट लगाउन पाइन्छ, पहुँच बन्छ भन्ने हिसाबले पनि सञ्चारमाध्यम दर्ता गर्नेको भीड देखिन्छ । त्यस्ता सञ्चारमाध्यमका सञ्चालक सुरुमा धेरै उत्साही हुने तर काम गर्दै जाँदा झारा टार्ने प्रवृत्ति र हुबहु सार्ने प्रवृत्ति देखिएको छ”, उहाँले भन्नुभयो । उहाँले गुणस्तरीय पत्रकारिता गर्न सहभागीलाई सुझाव दिनुभयो । 

आचारसंहिता अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक पत्रकार सुरेशप्रसाद आचार्यले पत्रकारिता अनुभव नभएका व्यक्तिलाई अनलाइन सञ्चारमाध्यम सञ्चालन चुनौतीपूर्ण भएको बताउनुभयो ।

“पत्रकारिता गर्दै गर्दा त्यसको आधारभूत मूल्य, मान्यताबारे जानकार हुनुपर्छ । पत्रकारिताको अनुभव र सीपको अभावमा नजानेर पनि गल्ती भइरहेको हुन्छ । धेरै साथीहरू पत्रकारिताको अनुभवबिना आउँदा गुणस्तरीय पत्रकारितामा चुनौती थपिएको छ ।”

उहाँका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा हरकोही पत्रकारजस्ता देखिन्छन् । तर आमसञ्चार माध्यममा आउने जो–कोही पत्रकार होइनन् । “अरूभन्दा फरक हुन, जिम्मेवार, तथ्यपरक र खोजमूलक समाचारका लागि आउने हो”, उहाँले भन्नुभयो । आचार्यले आमसञ्चारमाध्यमको पहुँचको प्रलोभनमा अनलाइन सञ्चारमाध्यम सञ्चालन नगर्न आग्रह समेत गर्नुभयो । 

काउन्सिल नेपालले नयाँ सूचीकृत अनलाइन सञ्चारमाध्यमका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ । 

प्रवक्ता दीपक खनालले आचारसंहिता अभिमुखीकरण कार्यक्रमले एक वर्ष पूरा गरेको जानकारी दिनुभयो । 

गत वर्ष २०७८ चैत ११ गतेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रममा विभिन्न छ सय ७१ अनलाइन सञ्चारमाध्यमका एक हजार ४० जना सहभागिता जनाएका छन् । अध्यक्ष बस्नेतको नेतृत्वमा प्रशिक्षणको कार्यक्रम अघि बढेको हो । 

उहाँले भन्नुभयो, “अनलाइन सञ्चारमाध्यमको सङ्ख्या तीन हजार बढी पुगेको छ । आचारसंहिता उल्लङ्घनको उजुरी र गुनासा पनि यही सञ्चारमाध्यमको धेरै छ । नयाँ दर्ता भएका अनलाइन सञ्चारमाध्यमलाई अभिमुखीकरण दिइरहेका छौँ ।”

अभिमुखीकरणका लागि काउन्सिलले सञ्चारमाध्यमबाट रकम सङ्कलन गर्ने गरेको छ । सीमित स्रोत साधनका बाबजुद अभिमुखीकरण कार्यक्रमको सकारात्मक प्रतिक्रिया आउने गरेको उहाँले बताउनुभयो । 

“विभिन्न आमसञ्चारमाध्यमको अनुभव भएका पत्रकार केही प्रतिशत हुनुहुन्छ । अन्य क्षेत्रमा संलग्नको आकर्षण बढी देखिन्छ । पत्रकारिताबारे कम अनुभव र कम जानकार सञ्चालकका लागि यस कार्यक्रम प्रभावकारी भएको पाएका छौँ । सहभागीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ”, उहाँले भन्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button