तपाईँ सुन्दै हुनुहुन्छः

अब घरबाटै मिर्गौला रोगको जाँच गर्न सकिने (भिडियाे)

मिर्गौला स्वस्थ राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउने, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्दछ ।

काठमाडौँ । रेडियो नेपालको ७३ औँ वार्षिकोत्सवको अवसर पारेर रेडियो नेपालले निःशुल्क मिर्गौला परीक्षण शिविर सञ्चालन गरेको छ ।

रेडियो नेपालको केन्द्रिय कार्यालय, सिंहदरबारमा आज नेपाल मेडिसिटी अस्पताल र मिर्गौला बचाऔँ अभियानको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।

पछिल्लो १०/१५ वर्ष यता नेपालमा मिर्गौला रोगीहरूको सङ्ख्या बढ्दै गएको छ । मानिसहरूमा जनचेतना बढ्दै जानुको कारण पनि मिर्गौला रोग समयमै पत्ता लाग्ने गरेको र यसको उपचारमा पनि सहज हुने गरेको चिकित्सकहरूको भनाइ छ ।

घरमै बसेर पनि मधुमेह अर्थात् सुगरको जाँच गरे जस्तै अब आफैले घरमा बसिबसी मिर्गौला रोगको जाँच गर्न सकिने भएको छ । रेडियो नेपालले आज सञ्चालन गरेको मिर्गौला परिक्षण शिविरमा चिकित्सकहरूले पछिल्लो समय विकसित प्रविधिका आधारमा मिर्गौलाको जाँच गरी तत्काल परिणाम निकालेका छन् । 

यसका लागि मेडिकलमा सहजै पाइने डिविस्टिकका माध्यमबाट घरमै ३० सेकेण्डमा आफ्नो मिर्गौला परिक्षण गर्न सकिने बताउनुहुन्छ नेपाल मेडिसिटी अस्पतालमा ट्रान्सप्लान्ट काउन्सेलरका रुपमा काम गर्दै आउनुभएका मृगौला बचाऔँ अभियानका शङ्कर भट्टराई । 

पछिल्लो समय नेपालमा मिर्गौला रोगीहरूको सङ्ख्या बढ्दै गएको देखिन्छ । मानिसमा जनचेतना बढ्दै जानुले पनि समयमै परिक्षण गर्दा यसका रोगीहरूको सङ्ख्या बढेको पाइएको चिकित्सकको भनाई छ । कुनैपनि रोग लागिसकेपछि अप्ठ्यारो अवस्था आउनु भन्दा पहिले हामीले खानपान, रहनसहनको शैलीमा ध्यान दिने र कम्तीमा पनि एक वर्षमा एकपटक मिर्गौला परिक्षण गर्ने हो भने यस्ता रोगहरूबाट बच्न सकिने नेपाल मेडिसिटी अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. नवीन बस्नेत बताउनुहुन्छ ।

उहाँले भन्नुभयो मिर्गौला रोगको समयमै पहिचान तथा निदान नै मिर्गौला स्वस्थ राख्ने मुख्य उपाय हो । मिर्गौला स्वस्थ राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउने, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्दछ ।

धूमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका वयस्कहरू र मिर्गौलामा समस्या भएकाहरूलाई मिर्गौला रोगको खतरा बढी हुनुभएकाले हरेक वर्ष अनिवार्य रुपमा मृगौला परीक्षण गर्नुपर्छ ।

मिर्गौला रोग लागिसकेपछि यसको उपचार महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुने मानिन्छ ।

विलासितापूर्ण जीवन जिउने र सुविधा भोगी जीवनशैलीले मोटोपनासँगै मिर्गौलाको समस्याहरू बढ्दै गएकाले सन्तुलित खाना, सरल जीवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ ।

सञ्चारमाध्यमहरूको सक्रियता र विभिन्न सचेतना कार्यक्रमहरूका कारण बढ्दो जनचेतनास्तरले पछिल्लो समयमा उपचारको दायरामा आउनेहरूको सङ्ख्या पनि उल्लेख्य रुपमा बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button