तपाईँ सुन्दै हुनुहुन्छः

‘विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक’

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताउनुभएको छ ।

एसियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय सङ्गठन (इफाप्का) र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रूपमा आज राजधानीमा आयोजना गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राख्नुभयो । पर्याप्त लगानी बाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । निर्माणमैत्री ऐन, कानुन नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्वीकार गर्दै उहाँले समयसापेक्ष ऐन, कानुन बनाउन नेपाल निर्माण व्यवसायी महासङ्घजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

इफाप्काका अध्यक्षसमेत रहनुभएका नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरि नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताउनुभयो । कमजोर वित्तीय अवस्था तथा प्रविधिका कारण नेपालजस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठिन भएको अध्यक्ष सिंहले बताउनुभयो ।

इफाप्काका महासचिव पनि रहनुभएका नेपाल निर्माण व्यवसायी महासङ्घका सल्लाहकार वीरेन्द्रराज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रष्ट पार्दै ४६ औँ इफाप्का सम्मेलन आगामी मङ्सिर ४ देखि ८ सम्म काठमाडौँमा आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

सम्मेलनमा विज्ञहरूबिच सार्वजनिक–निजी साझेदारीको विविध आयाम, खरिद कानुन, इपिसी कन्ट्रयाक्ट, दिगो पूर्वाधारका सम्भावना र चुनौती लगायतका विषयमा छलफल भएको थियो । इफाप्का बोर्ड सदस्य सुशीलकुमार श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button