तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाकालमा स्वास्थ्यकर्मीको भूमिका सम्मानयोग्य: मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले स्वास्थ्यकर्मीहरू भगवानको दोस्रो रूप रहेको बताउँदै कोरोना कालमा स्वास्थ्यकर्मीको भूमिका सम्मानयोग्य भएको बताउनुभएको छ ।

मुख्यमन्त्री यादवले मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले आज जनकपुरधाममा आयोजना गरेको सम्मान कार्यक्रममा कोरोना अवधिमा ज्यान गुमाएर स्वास्थ्यकर्मीले आम जनताको जीवन रक्षा गरेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारका लागि स्वास्थ्यकर्मीको सेवा तथा सुविधा बढाउने पक्षमा प्रदेश सरकार भएको बताउँदै यस विषयमा सरकारले छलफल गर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री यादवले मधेश प्रदेश सरकारको सफलता नै स्वास्थ्य क्षेत्रको सुधारमा निहित भएकाले यसको सुधारका लागि सबैले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादवले स्वास्थ्य क्षेत्र निकै सम्मानित पेशा भएकाले स्वास्थ्यकर्मीहरुले पनि पेशामा आँच आउन नदिने गरी काम गर्न आवश्यक भएको बताउनुभयो ।

मधेश प्रदेशका सामाजिक मन्त्री सुरिता कुमारी साहले स्वास्थ्य क्षेत्र सेवामूलक भएकाले यसलाई सेवामूलक नै रहन दिन आग्रह गर्दै यसलाई व्यावसायिक नबनाउन अनुरोध गर्नुभयो ।

खानेपानी तथा ऊर्जा मन्त्री सिगासन सा कलवारले मधेश प्रदेशका स्थानीय स्वास्थ्य संस्थाहरूलाई बलियो बनाउन आग्रह गर्नुभयो ।

स्वास्थ्यकर्मी फोरम नेपालका राष्ट्रिय अध्यक्ष बालकिशोर प्रसाद यादवले स्वास्थ्य, शिक्षा तथा पूर्वाधारको विकास प्रदेश सरकारमा हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button