तपाईँ सुन्दै हुनुहुन्छः

इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र सगरमाथा भिड्ने

सुनसरी । सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र साबिक विजेता सगरमाथा यूथ क्लब मोरङ भिड्ने भएका छन् ।

इटहरी रङ्गशालामा आज बिहीबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौलाई १–० गोल अन्तरले पराजित गर्दै सगरमाथासँगको उपाधि भिडन्त पक्का गरेको हो । आर्मीका दिपक गुरुङले आत्मघाती गोल गरेपछि चर्च ब्वाइज उपाधि नजिक पुगेको हो ।

२२ औ मिनेटमा चर्च ब्वाइजका विदेशी खेलाडी बेम्पाले प्रहार गरेको थ्री किकलाई दीपकले हेडर गरेर क्लियर गर्न खोज्दा आत्मघाती गोल हुन पुगेको थियो । पहिलो हाफमा पाएको ३ वटा अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एक मात्र अवसरलाई पनि सुशान्त चौधरी खेरा फालेपछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको हो ।

दोस्रो हाफमा आर्मीलाई दबाबमा राखेको चर्च ब्याइजका विदेशी खेलाडी फ्रेकलिंक ताल्ला म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार पाए ।

यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा ए डिभिजन क्लब मछिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै सगरमाथाले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यी दुई टिमबिचको उपाधि भिडन्त आगामी शनिबार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button