लाेसपा सम्मानजनक ढंगबाट सरकारमा सहभागी हुन्छ : नेता भण्डारी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले १० दलीय गठबन्धनमा सम्मानजनक ढंगबाट सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आज बसेको केन्द्रीय कार्यकारीणि समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै पार्टीका नेता शरदसिंह भण्डारीले गठबन्धनका नेताहरुसँग छलफल गर्नका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी तोकिएको जानकारी दिनुभयो ।
बैशाख १० गते हुन लागेको उपनिर्वाचनमा लोसपा नेपाल सहभागी हुने र बारा–२ मा उम्मेदवारका बारेमा पछि टुंगो लगाउने उहाँले बताउनुभयो ।
१० दलीय गठबन्धनलाई पाँच वर्षसम्म टिकाउने गरी अगाडी बढाउने, सुशासन, समृद्धि र कानूनी राज्य स्थापनाका लागि पार्टी पनि कार्यरत रहने एवं सरकारलाई पनि झक्झकाउने गरी काम गर्ने उहाँले बताउनुभयो ।
लोसपा नेपालले नागरिकता सम्बन्धीको समस्या, रेशम चौधरीको सम्मानजनक रिहाई र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतको मुद्दाहरु उठाउँदै आएकोले सरकारको यस विषयमा गम्भिर ध्यानाकर्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्