तपाईँ सुन्दै हुनुहुन्छः

‘सङ्घीयताको अभ्यासलाई व्यवहारिक बनाउनुपर्छ’

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमतकुमार कार्कीले सङ्घीयता स्थापनापछि जनताले प्रत्यक्ष रुपमा विकासको अनुभूति गर्न पाएको बताउनुभएको छ ।

नेपाल समाजशास्त्र सङ्घ काठमाडौँ र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले सङ्घीयता स्थापनापछि प्रदेशमा १५० भन्दा बढी विकास तथा पूर्वाधारका संरचना निर्माण गरिएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापनापछि पाँच वर्षको अवधिमा बहुबर्षे आठ सय किलोमिटर सडक कालोपत्रे भएको र आगामी दुई वर्षभित्र थप तीन सय किलोमिटर कालोपत्रे गर्ने योजना रहेको जानकारी दिनुभयो ।

नेपालको लागि सङ्घीयता आवश्यक रहेको छ भन्नुहुँदै उहाँले यसको अभ्यासलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले रोजगारी र समृद्धि कायम गर्दै जनतालाई सङ्घीयताको अनुभूति दिनुपर्ने बताउनुभयो ।

समाजशास्त्रका उपाध्यक्ष विश्व कल्याण पराजुलीले नेपालमा सङ्घीयता: अवसर र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button