तपाईँ सुन्दै हुनुहुन्छः

को बन्दैछ आइजिपी ?

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको तीन दिनमै पाँचमध्ये एक जना प्रहरीको सर्वोच्च पद (प्रहरी महानिरीक्षक) बन्नुहुनेछ । 

नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआइजीमा पदोन्नति हुनुभएको थियो । 

हालका प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह यही चैत १० गते राति १२ बजेदेखि ३० वर्षे प्रहरी सेवाको उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । त्यसपछि रिक्त हुने आइजिपी पदमा हाल पदोन्नति हुनुभएका एआइजीबाटै बढुवा गर्नुपर्ने भएकाले अबको दुई दिनपछि नै पाँच एआइजीमध्ये एक जनाले महानिरीक्षकको फुली लगाउन पाउने महत्वपूर्ण अवसर प्राप्त गर्दै हुनुहुन्छ । 

काम गर्नसक्ने सक्षम, सङ्गठनलाई कमाण्ड गर्नसक्ने, नेतृत्व दिनसक्ने लगायतलाई आधार मानेर नेपाल सरकारले आइजिपी बनाउन सक्ने विद्यमान अवस्था रहेको पूर्व प्रहरी अधिकारी बताउँछन् । 

“मापदण्ड हेर्दा व्याख्याअनुसार जसलाई बनाए पनि हुने जस्तो देखिन्छ”, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले भन्नुभयो, “सरकारले राम्रै र सक्षम व्यक्तिलाई ल्याउँछ, यो नियमित प्रक्रिया हो जस्तो लाग्छ मलाई ।” पछिल्लो समयमा गृहमन्त्रालयले सरुवा बढुवामा मापदण्ड नै बनाएर लागू गरेको छ । 

सरकारले उपयुक्त व्यक्ति हो भन्ने व्याख्याका आधारमा गरेर पाँचमध्ये एकलाई आइजिपी बनाउन सक्ने देखिएको प्रहरी अधिकृतहरू बताउँछन् । सरकारले सिंहलाई गएको वैशाख १८ गते महानिरीक्षक पदमा पदोन्नति गरेको थियो । 

प्रहरी नियमावली २०७१ को दफा ४१ मा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने, नेतृत्व दिनसक्ने र आफू मुनिकालाई प्रोत्साहन गर्नसक्ने व्यक्तिलाई आइजिपी बनाउन सक्ने उल्लेख छ । 

यही चैत १० मा प्रहरी महानिरीक्षक (आइजिपी) धीरजप्रताप सिंह अवकाश हुँदा उहाँसँगै तीन एआइजी पनि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । सिंहकै ब्याची एआइजी सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी अवकाशमा जानुहुनेछ । 

हाल बढुवा भएका एआइजीमध्ये एक जना महानिरीक्षकमा पदोन्नति भएपछि १० गते रातिपछि त्यो पदसहित गरेर चार एआइजीको पद पुनः रिक्त हुन्छ । 

हालका महानिरीक्षक सिंहको अवकाशपछि रिक्त हुने चार एआइजीमा डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी, टेक तामाङ, उमेशराज जोशी, मीरा चौधरी, रामदत्त जोशी, भीमप्रसाद ढकाल, दुर्गा सिंह, पोषराज पोखरेल र किरण राणाबीच प्रतिस्पर्धा हुने केन्द्रीय प्रवक्तासमेत रहनुभएका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।

चैत ११ पछि बढुवा हुने महानिरीक्षकको कार्यविधि संशोधनका लागि प्रक्रियामा रहेको ३० वर्षे उमेर हद नहटाइएको खण्डमा विसं २०८१ चैतसम्मको रहनेछ ।  

यसअघि महानिरीक्षकको बढुवामा राजनीतिक हस्तक्षेप भएको भनेर चर्को आलोचनासमेत हुने गरेको थियो । पूर्व प्रहरी अधिकारी भने अब त्यसबाट मुक्त हुन जरुरी रहेको बताउनुहुन्छ ।  गृह मन्त्रालय स्रोतका अनुसार आउँदो मन्त्रिपरिषद्को बैठकले सोमबार पदोन्नति हुनुभएका एआइजीमध्येबाट एक जनालाई प्रहरी महानिरीक्षकमा पदोन्नतिको निर्णय गर्नेछ ।

एआइजीमा पदोन्नति हुनुभएका किरण बज्राचार्य प्रहरी इतिहासमै पहिलो पटक प्रहरीको सर्वोच्च (महानिरीक्षक) पदको प्रतिस्पर्धी बन्ने महिला हुनुहुन्छ । यसअघि अतिरिक्त महानिरीक्षकमा पुगे पनि पूजा सिंह भने महानिरीक्षकको प्रतिस्पर्धामा सामेल हुन पाउनुभएको थिएन ।  

बज्राचार्यसँगै डिआइजीमा बढुवा हुनुभएका मीरा चौधरी, दुर्गा सिंह र किरण राणा एआइजी बढुवामा नै पछि पर्नुभएकाले उहाँ महानिरीक्षकको प्रतिस्पर्धामा एक्लो महिलाका रुपमा प्रतिस्पर्धी हुने अवसर प्राप्त गर्नुभएको हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button